Logo

प्रचण्ड धनुषा-१ बाट चुनाव लड्ने



काठमाडौं, १० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी संघीय संसद्को निर्वाचनमा कहाँबाट चुनाव लड्छन ? भन्ने कुरा अहिले चासोको विषय बनेको छ । दाहाल भने आगामी निर्वाचनको लागि आफ्नो नेतृत्वमा तेस्रो धार बनाउन लागिपरेका छन् ।

उनले पूर्व माओवादीहरु एकजुट बनाउनेदेखि माधव नेपाल, वामदेव गौतमलाई समेटेर समाजवादी केन्द्र बनाउने गृहकार्य पनि थालेका छन् । यो बीचमा उनले थुप्रै नेताहरुसँग भेटवार्तासमेत गरेका छन् । कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनभित्रैबाट दाहालले अर्को गठबन्धन बनाउन खोजेको भनेर अहिले चर्चा पनि भैरहेको छ ।

दाहालले आगामी निर्वाचनपछि देशको बागडोर आफ्नो पार्टीको हातमा आउने र देशको नेतृत्व गर्नबाट माओवादीलाई अब कसैलेपनि रोक्न नसक्ने भनेर उद्घोष गरेका छन् । दाहाल स्वयमले आगामी निर्वाचन कहाँबाट लड्ने भनेर अहिले निधो गरेका छैनन् । उनी चितवनबाट लड्ने चर्चा छ । तर, पछिल्लो समय स्वतन्त्रहरुले पनि दाहालको निर्वाचन क्षेत्र ताकेपछि भने उनी सुरक्षित क्षेत्रको खोजीमा रहेको पनि चर्चा हुन थालेको छ ।

माओवादी केन्द्रनिकट स्रोतले भने दाहालले आगामी संसदीय निर्वाचन धनुषाको क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको दाबी गरेको छ । धनुषा १ माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव विजयी भएको क्षेत्र हो ।

०७४ को निर्वाचनमा यादवले तत्कालिन संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई पराजित गरेका थिए । यादवले २६ हजार ४१६ मत पाउँदा उनीसँग पराजित भएका कार्कीले १७ हजार २ सय ८४ मत ल्याएका थिए । यादव र कार्कीबीच ९ हजार १२३ को मत अन्तर थियो । यो क्षेत्र मधेश प्रदेशमै माओवादीको राम्रो जनाधार भएको क्षेत्र मानिन्छ ।

आगामी निर्वाचनमा यादवलाई समानुपातिकमा राखेर दाहालले यो क्षेत्रबाट चुनाव लड्ने चर्चा छ । ०७० को निर्वाचन दाहालले सिरहाको क्षेत्र नम्बर ४ बाट चुताव जितेका थिए । दाहालले आफ्नो मधेशसँग लभ परेको बताउने गरेका छन् । चितवन क्षेत्र नम्बर ३ मा दाहाललाई हराउनको लागि एमालेदेखि स्वतन्त्र उम्मेद्धवार बन्नेहरु अहिलेदेखि नै सक्रिय भएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्