Logo

नयाँ नागरिकता लिनेलाई मतदाता बनाउने बहानामा चुनाव सार्ने प्रयास



काठमाडौं, १२ साउन । मंसिर ४ मा चुनाव गर्ने चर्चा चलेपनि सत्ता गठबन्धनभित्र मतभेद देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंसिरको पहिलो साता नै मिति सिफारिश गर्न पक्षमा छन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल फागुनको अन्तिम या चैत्रसम्म धकेल्ने प्रयासमा छन् ।

नागरिकता विधयेक पारित भएको र यसले ५ देखि ७ लाखले नागरिकता पाउने आँकलन गरिएको छ । यसको जस लिने प्रतिष्पर्धा नै चलेको छ । विशेषगरी सत्ता पक्षले यसको जस लिन खोजिरहेको छ । काँग्रेस, माओवादी, नेकपा एस, जसपा नागरिकता विधयेक ल्याएपछि आफूहरुका कारण सम्भव भएको भन्दै प्रभावित क्षेत्रमा सक्रिय छन् । विशेषगरी तराईमा उनीहरुले जस लिएर मतदाता आकर्षित गर्न खोजेका छन् ।

लोसपा पनि नागरिकता विधयेकको जस लिन सक्रिय छ । एमालेका अधिकांश सांसद विधयेकविरुद्ध देखिएका छन् । यसकारण नयाँ नागरिकता लिनेबाट आफूहरुलाई फाइदा हुने निष्कर्ष सत्ता पक्षको छ ।

नयाँ नागरिकता पाउनेहरुको नाम मतदाता परिचयपत्रमा समेत समावेश गर्नुपर्ने र त्यसका लागि समय लाग्ने भएकाले चुनाव फागुनको अन्तिम या चैत्रसम्म धकेल्ने प्रचण्ड र माधव नेपालको चाहना देखिएको छ । उनीहरुले यसैमा जोडबल गरिरहेका छन् ।

चुनाव मंसिरमा जाँदा थप तयारी नपुग्ने देखि नतिजा पक्षमा नआउनसक्ने निष्कर्षमा माओवादी र नेकपा एस पुगेको छ । गृहको रिपोर्ट पनि त्यस्तै छ । यसकारण पनि प्रचण्ड र माधव नेपाल चुनाव सार्न देउवामाथि दबाब दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्