Logo

एमालेबाहेकको वामपन्थी मोर्चामा प्रचण्डको ध्यान



काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कम्युनिस्ट सिद्धान्त नत्याग्ने बुझिएको छ । डा. बाबुराम भट्टराईले कम्युनिस्ट सिद्धान्त त्यागेमा मात्र समाजवादी केन्द्र गठन हुनसक्ने भनेपनि प्रचण्ड तयार देखिएनन् ।

प्रचण्ड र बाबुराम कुनैबेला माओवादीमा थिए । बाबुरामले कम्युनिस्ट सिद्धान्त त्यागेका थिए । तर, प्रचण्ड तयार छैनन् ।

कम्युनिस्ट सिद्धान्त अंगिकार गरेसम्म समाजवादी केन्द्र बन्न नसक्ने जसपा अध्यक्ष उपेन्द्र यादवको भनाई केही दिन अघि सार्वजनिक भएको थियो । उनले पनि समाजवादी केन्द्र गठनका लागि कम्युनिस्ट सिद्धान्त त्याग्नुपर्ने शर्त प्रचण्ड र माधव नेपालसँग राखेको बुझिएको छ ।

प्रचण्डले विकसित घटनापछि वामपन्थी मोर्चा बनाउनेतर्फ आफूलाई केन्द्रित गरेका छन् । नेकपा एमालेबाहेकका कम्युनिस्ट पार्टीसँग सहकार्य गर्ने उनको तयारी छ । प्रचण्डले पूर्वमाओवादी वामपन्थी शक्ति, नेकपा एस, वामदेव गौतम नेतृत्वको कम्युनिस्ट एकता अभियानलगायतसँग सकभर एकता नभए मोर्चा बनाउने सम्मको सक्रियता बढाएका छन् ।

एमालेबाहेकको वामपन्थी शक्ति मिलाएर नेपाली काँग्रेससँग चुनावी गठबन्धनमा बढीभन्दा बढी सिट दाबी गर्ने उनको रणनीति देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्