Logo

कुमारी आमा नेहारिका राजपुतद्वारा भोलिदेखि पुनः आमरण अनसनको घोषणा



काठमाडौं, १९ साउन । महोत्तरीकी कुमारी आमा निहारिका राजपुतले पुनः आमरण अनसन बस्ने घोषणा गरेकी छिन् । गृहमन्त्रालयसँग गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्न दबाब दिन आफूले पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेको उनको भनाई छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत जेठ २७ गते आमरण अनसन सुरु गरेर असार २७ गते अनसन तोडेकी राजपुतले आफ्नो माग पूरा नभएसम्म अनसन नतोड्ने चेतावनी समेत दिएकी छिन् ।

न्यायको माग गर्दै बच्चासहित अनसनमा बसेकी राजपुतले गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर अनसन तोडेपनि आजसम्म कुनै पनि मागका बुँदा कार्यान्वयन नभएको गुनासो पोखिन् । उनले भनिन्–‘मसँग सरकारले गरेका सहमति एउटा पनि कार्यान्वयन गरेको छैन्, मन्त्रालयले मलाई झुटो आश्वासन दिएर अनसन तोड्न लगायो, भोलिदेखि सिंहदरबार अगाडी बच्चा लिएर आमरण अनसन फेरी सुरु गर्दैछु । कि त कुमारी आमालाई गरि खान दिन पर्यो कि त सरकारले मारिदिओस् । जतिपनि कुमारी आमाहरु छन्, उनीहरुले आफ्नो बच्चाको न्याय माग्न जाँदा मर्नैपर्छ भने मर्न दिनुहोस् कि त कित न्याय चाहियो ।’

पीडक शिवराम श्रेष्ठ र निहारीकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृहमन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृहमन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पुर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्नेलगायतमा राजपुत र सरकारबीच सहमति भएको थियो । सहमतिसँगै कुमारी आमा राजपुतले अनसन तोडेकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्