Logo

सरुवा हुने सचिवहरूको टुंगो आज



काठमाडौं, साउन २० । सरकारले चुनाव घोषणासँगै आधा दर्जन सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो।

यद्यपि, सचिवहरूको सरुवा टुंगो शुक्रबार मात्र लाग्ने भएको छ। हेरफेर भएका सचिवको जिम्मेवारी अझै मिलाउनुपर्ने भएकाले बिहीबार सचिव सरुवा निर्णय सार्वजनिक नगरिएको एक मन्त्रीले बताए। उनले भने, ‘हेरफेर भएका सचिवको जिम्मेवारी अझै पनि यताउता हुन सक्छ। त्यसैले बिहीबार निर्णय सार्वजनिक नगरिएको हो।’

अर्थ मन्त्रालयमा माओवादी नेता जनार्दन शर्मालाई पठाइएपछि असन्तुष्ट बनेका अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री कार्यालय तानिएका छन्। शर्मा फेरि सोही मन्त्रालय फर्कने भएपछि काज बिदा मिलाएर मरासिनी गत आइतबार पोखरातिर गएका थिए। उनी फेरि सोही मन्त्रालय फर्कने पक्षमा थिएनन्।

अर्थका अनुसार उनले एक साताको बिदा लिएका थिए। मरासिनीनिकट स्रोतका अनुसार उनकै चाहनामा मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा लगिएको हो। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा मन्त्रालयबाहिरका अनधिकृत व्यक्तिको प्रभावमा परी करको दर हेरफेर गरेको आरोप अर्थमन्त्री शर्मामाथि लागेको थियो।

त्यससँगै सिसिटिभी फुटेज हटाइयो भन्ने आरोप लागेपछि मरासिनीले असजिलो महसुस गरेको दाबी गर्दै अर्थका एक सहचिवले भने, ‘बजेट निर्माण र सिसिक्यामेराको फुटेजका विषयमा विवाद भएपछि उहाँ तनावमा देखिनुहुन्थ्यो। त्यसैले पनि पुनः शर्मासँग काम गर्ने पक्षमा देखिनुहुन्नथ्यो।’

मरासिनीले अकस्मात् बिदा लिएर पोखरा गएपछि मन्त्री शर्माको पदभार ग्रहण कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्कर सहभागी भए। मन्त्रीको स्वागत पुस्करले नै गरेका थिए। सामान्यतया मन्त्रीको स्वागत अर्थ सचिवले गर्ने व्यवस्था छ। अर्थसचिव अनुपस्थित भएपछि राजस्व सचिवले मन्त्रीको स्वागत गरेका थिए। अर्थ मन्त्रालयको जिम्मेवारीमा आएलगत्तै उनैले मरासिनीलाई अर्थमा ल्याएका थिए।

त्यसअघि मरासिनी महालेखा नियन्त्रक थिए। सहसचिव हुँदा पनि मरासिनी लामो समयसम्म अर्थमै बसेका थिए। त्यसैले उनलाई अर्थकै क्याडर भनेर चिन्ने गरिएको छ। सहसचिवबाट सचिवमा बढुवा भएपछि उनको पहिलो पोस्टिङ मुख्यमन्त्री कार्यालय लुम्बिनीमा गरिएको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्