Logo

पुनर्जागरण पार्टी, नेपालको घोषणापत्र सार्वजनिक, युवाहरुमा आइ लभ पोलिटिक्सको भावना विकास गर्ने



काठमाडौं, २१ साउन । पुनर्जागरण पार्टी, नेपालले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। उसले लिएको मुख्य नीति भनेको ‘पूर्वीय दर्शनमा आधारित मानवतावाद’ रहेको छ । पार्टीले ‘वसुदैव कुटुम्बकम’ भावना विकास गर्दै मानव जातिको मुक्तिको निम्ति काम गर्ने पनि जनाएको छ ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले जारी गरेको घोषणाअनुसार ‘जे बोल्ने, त्यही गर्ने र जे गर्ने, त्यही बोल्ने’, ‘आफू खुशी हुने, अरुलाई पनि खुशी बाँड्ने’, ‘चित्र र चरित्र उस्तै बनाउने’, ‘व्यक्तिको विचार होईन, व्यवहारप्रधान मान्ने’, ‘धेरैभन्दा धेरै गल्ती गर्ने प्रयत्न गर्ने, तर एउटै गल्ती नदोहोर्याउने’ नीति लिएको छ ।

यस्तै, काम, क्रोध, लोभ, मोह र भयबाट मुक्त हुन प्रयत्नशील रहने पनि सो पार्टीले घोषणा गरेको छ । त्यस्तै, ‘सके राम्रो गर्ने, नसके नराम्रो चाहीँ नगर्ने’, ‘अन्याय, अत्याचारविरुद्ध आवाज बुलन्द पार्ने’ पनि पार्टीको मुख्य नीति रहेको छ । पार्टीले जारी गरेको घोषणापत्रमा भनिएको छ,‘सबै खाले विभेद र असमानताको पर्खाल भत्काउन लागिरहन्छौं । जल, तेज, वायु, आकाश र माटोको संरक्षण र सम्वद्र्धनमा लागिरहन्छौं । युवाहरुमा आई लभ पोलिटिक्सको भावना विकास गर्दै लैजानेछौं । ४० वर्ष उमेरका मुनिको पार्टी बनाउनेछौं ।’

कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष श्यामबाबु गौतमले आफूहरुको मुख्य उद्देश्य भनेको नै सडकमा जाने भएको सुनाए । उनले पार्टीको चुनाव चिन्ह मैनबक्ती रहेको पनि सुनाए । उनले भने,‘यो सदन जाने पार्टी होईन, सडकमा जाने पार्टी हो । निर्वाचनको संयन्त्रको औचित्य छैन् । यो यो मिल्दा, यति परीणाम आउँछ भन्ने । अहिलेको व्यवस्था, कर्मचारीतन्त्र, कुटनीतिक क्षेत्र, न्यायालय सबैमा पूनर्जागरण ल्याउनुपर्छ । एक दलको दुई तिहाई आएपनि केही काम छैन् । अहिलेको चुनावको औचित्य छैन् । युवाहरु राजनीतिक दलको दुव्र्यसनीबाट मुक्त हुनुपर्छ । अहिले हेर्नुहोस न सडक खाली छ । प्रतिपक्षी आन्दोलन कमजोर छ ।’

त्यस्तै, पार्टीका महामन्त्री रविकिरण हमालले पनि अहिलेको चुनावले खास अर्थ नराख्ने बताए । उनले भने,‘पूनर्जागरणविनाको चुनावले खास अर्थ राख्दैन । देश र जनतामा पूनर्जागरण ल्याउनुपर्छ । हाम्रो पार्टी अहिले त्यतातर्फ केन्द्रित छ । नेपालमा मात्रै होईन, विश्व राजनीतिमा नै पूनर्जागरण आवश्यक छ । अहिले विश्व व्यवस्थाको कुरा गरौं न, कुनै पनि संरचनाले काम गरेन । अमेरिकाको डेमोक्रेसीमा समस्या आएको छ ।’

घोषणापत्र पार्टीकी केन्द्रीय सदस्य कविता निरौलाले वाचन गरेकी थिईन भने कार्यक्रम सञ्चालन भने पार्टी प्रवक्ता सदिक्षा केसीले गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्