Logo

एमालेले एक्लै बहुमत ल्याउँछ : ज्ञवाली (भिडिओसहित)



काठमाडौं, २८ साउन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आगामी मंरि ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमालेको जनतामा ठूलो प्रभाव रहेको बताउँदै जनताले एमालेलाई नै अबको निर्वाचनपछि सरकारको नेतृत्वमा पुर्याउने दाबी गरेका हुन् ।

उनले भने,‘यो चुनावमा एमालेले एक्लै विजय प्राप्त गर्नेगरि तयारी गरेको छ । एमालेको जनप्रभाव जुन छ, पाँच दलीय गठबन्धनका साथीहरु नै यसबारेमा सबैभन्दा बढि सचेत छन् । कांग्रेसले त एक्लै एमालेलाई पराजय गर्न सकिँदैन भनेर निश्कर्ष निकालेको छ । अहिले कांग्रेस चुनावको लागि अरु सहयोगीको खोजी गरिरहेको छ । एमालेले स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत प्राप्त गरेको छ । जनमतको हिसाबले एमाले अहिलेपनि ठूलो दल हो । एमालेको नीति, सिद्धान्त, विचार र एमाले सरकारले गरेका कामहरुले एमलो विजयी हुने बलियो आधार छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै ज्ञवालीले नेपाली जनता अहिले कतिवेला चुनाव हुन्छ र एमालेलाई मतदान गरौंला भनेर पर्खिएर बसेको टिप्पणी गरे । उनले भने,‘जनता अहिले एमालेलाई मतदान गर्नको लागि प्रतिक्षा गरेर बसेका छन् । अहिलेको सरकारको कामबाट जनता वाक्कदिक्क भएका छन् । कांग्रेससँगै अहिलेको गठबन्धनलाई विदाई गर्ने तयारीमा जनता जुटेका छन् । हामी आफ्नो खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा लागेका छौं । हामी एक्लै बहुमत ल्याउँछौं ।’

उनले आफ्नो पार्टी अहिले चुनावको तयारीमा जुटिसकेको पनि बताए । उनले भने,‘हाम्रो सचिवालयको बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनको तयारीको सन्दर्भमा महत्वपूर्ण निर्णय पनि गरेको छ । यतिवेला नेपालको राजनीतिमा एमाले सबभन्दा ठूलो दल, कम्युनिष्ट आन्दोलनको मात्रै होईन, नेपालको लोकतान्त्रिक आन्दोलनको लागि पनि सबभन्दा ठूलो दलको रुपमा रहेको छ । अहिलेसम्म एमालेको जति वटा सरकार बने, मनमोहनदेखि हाम्रो अध्यक्ष केपी ओलीको पालासम्म, ती सरकारले नेपाली जनता र राष्ट्रको लागि महत्वपूर्ण काम गरेका थिए । एमालेको सरकारलाई अदालतको निर्णयबाट अपदस्त गरियो ।’

उनले अहिले मुलुकको आर्थिक अवस्था संकटपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘महँगी चरम रुपमा बढेको छ । जनता ठूलो मारमा छन् । नेपालको ईतिहासमा यो ठूलो महँगी हो । विदेशी मुद्रा सञ्चिती ५ देखि ६ महिनासम्म मात्रै पुग्ने अवस्थामा छ । यसअघि केपी ओलीको सरकारको पालामा ११ महिनासम्म धान्न सक्ने अवस्थामा थियो । अहिले त्यो ओरालो लागेको छ। मुलुकमा अहिले आर्थिक संकट गहिरो छ । बैंकले ऋण दिनसक्ने अवस्था छैन् । चौतर्फी रुपमा मुलुकको अवस्था अस्तव्यस्त छ । जनताले पाउने सेवा÷सुविधामा ढिलासुस्ती भएको छ । जनतामाथि दिनदिनै अन्याय, अत्याचार भैरहेको छ । जनताले दुःख पाउने अवस्था छ । राष्ट्रिय परिचपयपत्रको लागि रातभरि लाईन बस्नुपर्ने अवस्था छ । निहारिकालाई न्याय दिन सकेको छैन् । झण्डै उनले आत्मदह गरेर ज्यान गुमाउनुपरेन । मिटरब्याजको अत्याचार बढिरहेको छ । हाम्रो पार्टी संवेदनशील विषयमा गम्भीर बनेको छ । यी विषयमा सरकारले छिटो समाधान गरोस ।’

ज्ञवालीले मंसिर ४ गते हुने आम निर्वाचन शान्तिपूर्ण रुपमा हुनुपर्नेमा जोड दिए । उनले भने,‘निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुपर्छ । गएको स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा धाँधली गरियो । जबरजस्ती गरियो । त्यस्तो स्थिति अबको निर्वाचनमा नदोहोरियोस । चुनावमा मान्छेको खरिदबिक्रि हुने गरेको छ, त्यो नहोस । एमाले चुनावको लागि लागि सरकारलाई सहयोग गर्न तयार छ ।’

उनले एमाले सरकारको पालामा भएका काम र अहिले पाँच दलीय गठबन्धनको सरकारको बेलामा भएको काम जनताले सुक्ष्म रुपमा हेरिरहेको बताए । उनले भने,‘जनता सबै कुरामा सचेत छन् । आगामी निर्वाचनमा जनताले एमालेलाई बहुमत दिने निश्चित छ ।’

सत्ता गठबन्धनमा तालमेलको विषय पेचिलो बनेको उल्लेख गर्दै उनले गठबन्धनमा कांग्रेससँग अरु दल निरीह बनेको टिप्पणी गरे । उनले भने,‘गठबन्धनकै कुरा गर्दा कांग्रेस एक्लै बहुमत ल्याउनेगरि लागेको छ । अहिलेको पाँच दलीय गठबन्धनको नेता को हो ? यसमा प्रष्टै छ नि–नेपाली कांग्रेस र देउवा नै हो । पाँच दलीय गठबन्धन भनेको एक किसिमले भन्ने हो भने नेपाली कांग्रेस नै हो ।’

ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई पहिलो दल बनाउन सक्रिय भएर लागेको बताए । उनले भने,‘उहाँहरु कांग्रेसलाई पहिलो बनाउन लागिरहनुभएको छ । कांग्रेस जिताउनको लागि उहाँहरुको अभियान हो । तर, एमाले कम्युनिष्ट पार्टी हो । यो सुमाजवादको यात्रामा अघि बढिरहेको छ । नेपालको राजनीतिमा कांग्रेसका नेतृत्वमा पुँजीवादलाई सुदृढ गर्ने काम भएको छ भने एमालेको नेतृत्वमा समाजवादको यात्रा तय गर्न अभियान चलेको छ । यो चुनाव भनेको समाजवाद र पुँजीवादको लडाईं पनि हो । नेपाली जनता समाजवादको पक्षमा छन् । वापमन्थी विचारको पक्षमा छन् । शान्ति र समृद्धिको पक्षमा छन् ।’

उनले एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई आधार बनाएर अघि बढिरहेको बताए । उनले भने,‘देशमा विकास निर्माण हुनुपर्छ । रोजागरीको व्यवस्था गर्नुपर्छ । घरवारविहीनलाई बसोबासको व्यवस्था गर्नुपर्छ भनेर एमाले लागेको छ । अहिले नेपालको शिक्षा दयनीय अवस्थामा छन् । स्वास्थ्य र शिक्षामा व्यापार गर्नुहुँदैन् । नेपाली विद्यार्थीहरु अहिले धमाधम विदेशिन बाध्य भएका छन् । यो सबै समस्याको समाधानको लागि, आर्थिक संकटबाट मुलुकलाई मुक्त गर्नको लागि एमालेको बहुमतको सरकार आवश्यक छ । एमाले बहुमत ल्याउनसक्ने हैसियत भएको पार्टी हो । जनाधार भएको पार्टी हो । हाम्रो संगठनको सञ्जाल व्यापक छ ।’

फरक प्रसँगमा उनले नेपालका वामपन्थीहरु एक ठाउँमा उभिन जरुरी रहेको आवश्यकत्ता औंल्याए । उनले भने,‘वापमन्थीहरु ऋलग–अलग हुन जरुरी छैन् । सबै मिल्ने हो भने राम्रो हुन्छ । तर, यहाँ वामपन्थी भन्नेहरुले, उनीहरुको काम र व्यवहार हेर्ने हो भने कांग्रेसलाई बलियो बनाउनको लागि काम गरेको देखिन्छ । उनीहरुको कार्यनीति भनेको पुँजीवादीलाई बलियो बनाउने र नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने देखिएको छ ।’

उनले एमालेले चुनावमा तालमेलको लागि ढोका बन्द नगरेको स्पष्ट पारे । उनले भने,‘विचार र नीति मिल्यो भने हामी तालमेल गर्छौं । कांग्रेसलाई पराजित गर्नको लागि विचार मिल्नेहरुसँग सहकार्य हुन्छ । तर, तत्काल वामपन्थी एकताको सम्भावना छैन् । माओवादीलगायतको गलत नीतिले गर्दा यो सम्भव छैन् । एमालो आफ्नो पार्टी पँक्तिलाई बलियो बनाउन लागेको छ ।’
उनले निर्वाचन महँगो बनेको भन्दै यसमा विचार गर्नुपर्नेमा जोड दिए । उनले भने,‘धनीहरुले मात्रै चुनाव लड्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।’ एमाले निर्वाचन आयोगको कार्यतालिकाअनुसार नै केन्द्रित भएर चुनावको तयारीमा जुटेको उनको भनाई छ । उनले भने,‘हामी उम्मेद्धवार कस्तोलाई बनाउँदा ठीक हुन्छ भनेर क्राइट–एरिया बनाउँछौं । नेपालको राजनीतिमा मुख्य प्रतिष्पर्धा भनेको कांग्रेस र कम्युष्निटहरुको बीचमा हो । माधव नेपालहरुले यो चुनावपछि गम्भीर पछुताउनुपर्ने अवस्था आउँछ । जनता एमालेको पक्षमा छन् ।’



प्रतिक्रिया दिनुहोस्