Logo

थारु समुदायका परम्परागत गीत लोप हुने सङ्घारमा



काठमाडौँ,२९ साउन । सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन् । चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार, मैना, बडकिमार, सजना, मागर र वनगितवालगायतका गीत लोप हुने सङ्घारमा पुगेका हुन् ।

सुखदुःख, खुसियाली, प्रेम र विशेष अवसरमा गाइने यस्ता गीतको आफ्नै विशिष्ट स्थान रहे पनि आधुनिक युवाले पुराना संस्कृति बोकेका गीत विर्सदै जान थालेपछि थारु बुढापाका चिन्तित भएका छन् ।

युवापिँढी पश्चिमा संस्कृतिको सिको गर्दै आधुनिकतामै हराउन थालेपछि पुराना गीत हराउन थालेको थारु भागीराम चौधरीले बताए । सजना फागुनदेखि साउनसम्म, मैना कात्तिकमा धान काट्ने बेला, धमार ससुराल गएको बेला दुलहादुलहीले भाका हालेर गीत गाउने गरेको उनले बताए ।

आफनै मौलिकता बोकेका थारु समुदायका गीतको कागजी दस्तावेजसमेत नराखिँदा गीत सङ्कलन र संरक्षण हुन नसकेको थारु अगुवा धनबहादुर चौधरी बताउछन् । उनका अनुसार समयसापेक्ष ढङ्गले परम्परागत गीतलाई ढाल्न नसकिँदा नै युवापिँढी अन्य समुदायको गीतसङ्गीतप्रति आकर्षित हुन थालेका हुन । हालसम्म आधादर्जन बढी परम्परागत थारु गीत लोप भइसकेको र त्यतिकै सङ्ख्यामा रहेका गीत लोप हुने सङ्घारमा पुगेका उनी बताउछन् । रासस



प्रतिक्रिया दिनुहोस्