Logo

स्वतन्त्र उम्मेदवारहरुद्वारा स्वतन्त्रको नाममा दल खडा गरेर भ्रम सृजना गरिएकोमा आपत्ती, संघीयता र समानुपातिक प्रणाली खारेजीको एजेन्डासहित उम्मेदवारी घोषणा



काठमाडौं, १३ असोज । स्वतन्त्र उम्मेदवारहरुले विभिन्न दल गठन गरेर स्वतन्त्र अभियानविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । उनीहरुले वास्तविक स्वतन्त्र अभियानकर्ताहरुले देशमा असफल भइसकेका संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीको एजेन्डा बोकेपछि आत्तिएकाहरुले स्वतन्त्र नाम लिने देखि विगतमा स्वतन्त्रको चिन्ह योजनावद्ध तरिकाले हडप्ने गतिविधि गरेको भन्दै आपत्ती जनाए ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले स्वतन्त्रको नामलाई नकारात्मक असर पार्ने गरी भएका गतिविधिप्रति आपत्ती जनाए । उनले दल दर्ता गरेर उनीहरुको चुनाव चिन्ह लिनेहरु स्वतन्त्र हुननसक्ने बताए ।

सुवेदीले अहिले भएका राजनीतिक दलहरुले सहि बाटो नहिडेको टिप्पणी गरे । उनले भने,“जति दल छन् तीनीहरु राजनीतिक दलजस्तो भएनन, नेता नेताजस्तो भएनन्, प्रणाली सहि प्रणाली भएन ।” संसारमा पहिलो संविधानसभा असफल भएर दोस्रो संविधान सभाबाट संविधान लेखिएको विश्वकै पहिलो घटना नेपालमै भएको उनले सुनाए ।

समानुपातिक निर्वाचन प्रणालीबाट सबैलाई राज्यको मुलधारमा ल्याउन खोजिएको भएपनि उक्त प्रणालीले करोडौ रुपैयाँको चलखेल सुरु गरेको उनले आरोप लगाए ।
उनले स्वतन्त्रहरुले समानुपातिक प्रणालीहरु सुधार गर्न चाहेको स्पष्ट पारे । प्रदेश संरचनाको कारण जनतामा ब्यापक वितृष्णा भएको भन्दै उनले यसले मुलुक अधोगतितिर जाने निश्चित भएको बताए ।

स्वतन्त्रहरुले समानुपातिक प्रणाली स्वीकार गर्न नसक्ने उनको भनाइ थियो । उनले अहिलेको राजनीतिक दलहरुमा विभिन्न जातजातिलाई देखाएर थोरै मुठ्ठी भरका व्यक्तिहरु शासन सत्तामा पुग्ने र ती जातजातीलाई बिर्सने प्रवृत्ति हावी भएको बताए । भ्रष्टाचार नियन्त्रणको लागि शक्तिशाली भ्रष्टाचार निवारण आयोग गठन गरिने आफूहरुको लक्ष्य रहेको सुनाए ।

सुवेदीले सांसद विकास कोष खारेज गर्नूपर्ने धारणा राख्दै स्वतन्त्रहरु ठिकलाई ठिक, बेठिकलाई बेठिक, जे देख्यो त्यही भन्ने समुह भएको स्पष्ट पारे । त्यस्तै, मौजुदा प्रदेश संरचनामा आमूल परिवर्तन गर्ने, राजनीतिक भागवण्डाका आधारमा संवैधानिक नियुक्तलगायत सम्पूर्ण निकायका नियुक्ति खारेज गर्ने स्वतन्त्र उम्मेदवारहरुले संयुक्त लक्ष्य लिएका छन् ।

सांसद विकास कोष खारेज गर्ने, दलगत आधारमा कर्मचारी, शिक्षक, विद्यार्थ, पत्रकार, कानून व्यवसायी, चिकित्सक, इंञ्जिनियर जस्ता पेशागत संघ संगठन निर्माण गर्न नपाउने, नेपाली मौलिक संस्कृति, परम्परा, कला र सम्पदाको रक्षा गर्ने स्वतन्त्र उम्मेदवारहरुको एजेण्डा रहेको छ ।

ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार घोषणा गरेका डा. दीपेश केसीले स्वतन्त्रको नाममा दल गठन गरेर स्वतन्त्रको अस्तित्व समाप्त पार्न खोजिएको बताए । स्वतन्त्र अभियान र आन्दोलनविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनको जोड थियो । केसीले स्वतन्त्र र दलीय उम्मेदवार चिन्न र सचेत हुन सबैलाई आग्रह गरे । उनले यो षड्यन्त्रलाई चिर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

केसीले संघीयता, समानुपातिक निर्वाचन प्रणाली नेपाली जनताको चाहना र भावना नभएकाले चुनावमार्फत् अस्वीकृत हुने बताए । देशमा इतिहासलाई नामेट पार्ने र भविष्यका पुस्तालाई खतरामा पार्ने षड्यन्त्रहरु भइरहेको बताए । नेपाल आमामाथि बलात्कारको प्रयास हुन थालेपनि जिम्मेवार भनिएका नेताहरु सबै चुपचाप बसेको उनले टिप्पणी गरे । मुलुकको राष्ट्रियता खतरामा पुगेको भन्दै उनले राष्ट्रलाई विभाजन बनाउन प्रदेश संरचनाको नाममा जातजाति लडाउन खोजिएको उनको भनाइ थियो ।

उनले भने,“प्रदेश संरचनाको नाममा, जातीको नाममा, प्रदेश बनाउन खोजेर जातजातिलाई लडाउन खोजिएको छ । यो देशमा समानुपातिकको नाममा जातजातिलाई लडाइयो, आफ्नो परिवारको मान्छेलाई समानुपातिक सांसद बनाइयो, आफ्नो हुक्के, बैठके, नातावाद र कृपावाद हुँदै जसले पैसा दिन्छ उसलाई समानुपातिक निर्वाचन प्रणालीमा समावेश गरेर दशकौ सम्म त्याग गरेका युवाहरुलाई बाइपास गरेर उनीहरुको राजनीतिक भविष्य नै समाप्त पारिएको छ ।”

जनता जाग्नुपर्ने समय आएको भन्दै उनले अब जनता जागेनौ भने यो देश समाप्त पार्ने खेल अगाडि बढ्ने बताए । केही वर्षदेखि नेपालको धर्म संस्कृतिमाथि आक्रमण गरिएको भन्दै उनले जिम्मेवार भनिएका नेताहरु सबै चुपचाप बसेकोमा आपत्ति जनाए । उनले भने,“हाम्रो धर्ममाथि आक्रमण गर्न खोजिएको छ । सनातन धर्ममाथि आक्रमण गरेर त्यसमाथि बाह्य धर्म स्थापित गर्न थालिएको छ,युक्रेन र अफगानिस्तान जसरी नेपाललाई पनि ध्वस्त बनाइदैछ ।”

चुनावमा जाने घोषणा गरेका छन् । उनीहरुले अहिलेको प्रदेश संरचना र समानुपातिक निर्वाचन प्रणाली असफलसिद्ध भइसकेकाले जनताले ब्यालेटबाट त्यस्ता दल र उम्मेदवारहरुलाई धक्का दिने ठोकुवा गरे ।

स्वतन्त्र उम्मेदवार डा.ज्ञान बस्नेतले काठमाडौं–९ बाट उम्मेदवारी दिन लागेको जानकारी दिए । प्रजातन्त्र आएको ३० वर्ष पुगेपनि उपलब्धी जिरो भएको उनले टिप्पणी गरे । माओवादी जनआन्दोलनको क्रममा १७ हजार मानिस मारिएको भन्दै मार्नेलार्ए कसैले कारवाही गर्न नसकेको उनले बताए ।

निष्ठाको राजनीति गर्न स्वतन्त्रबाट उम्मेदवारी दिने उनले स्पष्ट पारे । उनले पार्टीको दासबाट माथि उठेर आउने पुस्तालाई सम्झेर स्वतन्त्रलाई जिताउन समेत आम नागरिकहरुलाई आग्रह गरे । समय र आवश्यकताले नयाँ नेतृत्व जन्माउने उनको भनाइ थियो ।

स्वतन्त्र उम्मेदवार सिद्धान्त राईले देशमा सिमित व्यक्तिहरुले मात्र हालिमुहाली गरिरहेको बताए । सोही सिमित वर्ग र जातिका व्यक्तिबाट राष्ट्रलाई मुक्ति दिलाउने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिने स्पष्ट पारे । आम नेपाली जनतालाई लोकतन्त्रलाई स्थापित गराउने आफ्नो प्रमुख उदेश्य रहेको उनले सुनाए । उनले भने,“विभिन्न भागमा बाडिएका वर्ग, जाति, क्षेत्र र लिंगका मानिसहरुलाई एक ठाउँमा लिएर नेपालको क्रान्तिलाई जाने छौ यो हाम्रो उद्देश्य हुनेछ ।”

स्वतन्त्र उम्मेदवार इञ्जिनियर आर.पी. महतोले देशको अवस्था बिग्रिएको भन्दै स्वतन्त्र नागरिकहरुले सशक्त रुपमा बढेको बताए । देशलाई बिगार्नेकोे विरुद्ध निस्किएको वैकल्पिक शक्ति स्वतन्त्र भएको बताए । परिवर्तन ल्याउने शक्ति नै स्वतन्त्र भएको स्पष्ट पारे ।

महतोले अबको युगमा बौद्धिकता र प्रविधिको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले भने,“१० वर्षमा गरिने काम एक वर्षमा गर्न सकिने त्यसमा आमुल परिवर्तन गर्नका लागि हामी अघि सरेको छौं ।”

परिवर्तन सबैको आवश्यकता हो भन्दै उनले परिवर्तन गरेर देखाउन निकै गाह्रो हुने उनले टिप्पणी गरे । उनले भने,“परिवर्तन कुनै केसमा रिप्लेसमेन्ट हुन्छन भने कुनै केसमा ट्रान्र्सफर्मेशन,रुपान्तरण कुरा गर्न सकिन्छ ।”

स्वतन्त्र उम्मेदवार निरन्जन पुडासैनीले हत्या, अपहरण दोषी ठहर भएको मानिसहरुलाई जेल नभई सुधार गृह पठाउनुपर्ने बताए । उनले महिलाहरुको सुरक्षामा आफूले जोड दिएको बताए । स्वतन्त्र उम्मेदवारले दलहरुलाई धक्का दिने निश्चित भएसँगै देशमा व्यापक परिवर्तन आउन लागेको बताए ।

स्वतन्त्र उम्मेदवार केदारनाथ पाण्डेले आमनागरिकले परिवर्तन चाहेको बताए । परिवर्तनको लागि अब बाँकी भएको समय दिन चाहेको उनले स्पष्ट पारे । देश परिवर्तनको लागि आगामी निर्वाचनमा मैदानमा उत्रिन खोजको बताए । जित हासिल गरे वा नगरेपनि मतलाई सम्मान गर्दै आफूभन्दा योग्य व्यक्ति आए आफू उम्मेदवारी त्याग्न तयार रहेको सुनाए ।

प्रेस विज्ञप्ति

यही मंसिर ४ गते हुन गइरहेको निर्वाचन नेपालको इतिहासमा अहिलेसम्म नभएको खालको परिवर्तनकारी घटनाक्रम विकास भइरहेको छ । नेपालमा परिवर्तनहरु कि त बुलेटले भए कि त सडक संघर्षबाट भए । यसपटक नेपाली जनताले ब्यालेटबाट परिवर्तन गर्दैछन् ।

नेपालमा यस्तो अवस्था ल्याइयो कि क्षमता भइकन अवसर पाउन दलको झोला बोक्नैपर्ने । नेपालीपनको भावनालाई नै कमजोर पार्न यो दल या त्यो दलको ट्याग लगाएर जनताको पहिचान लाई नै दलीय रङ्ग पोत्ने काम भयो । नेपाली हुँ भन्ने भावनालाई कमजोर पार्ने गतिविधि भए । नेपालमा स्वतन्त्र नागरिकहरु नै छैनन् जसरी दलहरुले आफूसँग दशौं लाख कार्यकर्ता रहेको प्रचार गर्न थाले । प्रवासमा रहेका नेपालीहरुलाई समेत नेपाली भन्दा कुनै दल विशेषको कार्यकर्ता बनाउन थाले । नेपाली राष्ट्रियतामाथिको यो गम्भीर प्रहार हो भन्ने सच्चा राष्ट्रभक्त नेपालीको निष्कर्ष हो ।

देशमा अराजकताको हद नै भयो । जनताले सहन सम्म सहनुप¥यो । यसविरुद्ध स्वतन्त्र रुपमा स्वतः स्फूर्त आवाजहरु उठ्दै गए । परिणामस्वरुप स्वतन्त्र उम्मेदवारहरुले स्थानीय चुनावमा सानदार प्रदर्शन गरे । स्वतन्त्र उम्मेदवारले जितेको स्थानीय निकायमा उदाहरणीय कामहरु हुनथाले । तर, स्वतन्त्र शब्दमाथि योजनावद्ध तरिकाले प्रहार हुनथालेको छ । स्वतन्त्र नागरिक र स्वतन्त्र उम्मेदवारहरुलाई कमजोर पार्ने रणनीतिका साथ निर्वाचन आयोगमा स्वतन्त्र शब्द राखेर दल दर्ता भयो । स्वतन्त्र उम्मेदवारहरु भन्दै विगतमा स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह लिएर सफलता हासिल गरेको देखेर उक्त चिन्हलाई योजनावद्ध तरिकाले हात पार्ने कार्य भए । स्वतन्त्रले विगतमा लिएको चुनाव चिन्ह देखाएर झुठ र भ्रमहरु सृजना गरिएका छन् । देशमा उठिरहेको स्वतन्त्र नागरिकहरुको स्वतः स्फूर्त आन्दोलनलाई असफल पार्ने षड्यन्त्रलाई चिर्दै देशभरका वास्तविक स्वतन्त्र उम्मेदवारहरु एकढिक्का हुने अभियान बढिसकेको छ । स्वतन्त्र उम्मेदवारहरु निरन्तर संगठित बन्दै जानुभएको छ ।

राष्ट्रिय र निर्वाचन क्षेत्रका राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरु आ आफ्नो ढंगले उठाउने अभियान चलि नै रहेको छ । साथै हामी स्वतन्त्र उम्मेदवारहरु निम्न लिखित साझा चुनावी एजेन्डाका साथ उम्मेदवारी दिने निर्णयमा पुगेका छौं ।

१) मौजुदा प्रदेश संरचनामा आमूल परिवर्तन गर्ने ।
२) समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने । पहिलो हुने निर्वाचन प्रणालीमै समावेशी समानुपातिक प्रतिनिधित्व गर्नुपर्ने ।
३) राजनीतिक भागवण्डाका आधारमा संवैधानिक नियुक्तलगायत सम्पूर्ण निकायका नियुक्ति खारेज गर्ने ।
४) सांसद विकास कोष खारेज गर्ने ।
५) दलगत आधारमा कर्मचारी, शिक्षक, विद्यार्थ, पत्रकार, कानून व्यवसायी, चिकित्सक, इञ्जिनियर जस्ता पेशागत संघ संगठन निर्माण गर्न नपाउने ।
६) नेपाली मौलिक संस्कृति, परम्परा, कला र सम्पदाको रक्षा गर्ने ।
७) भ्रष्टाचारको अन्तका लागि स्वतन्त्र शक्तिशाली आयोग गठन गर्ने ।
……………….. ……………….. ………………….
डा. दीपेश केसी ई.आर.पी. महतो नीरञ्जन पुडासैनी
स्वतन्त्र उम्म्ेदवार ललितपुर–२ स्वतन्त्र उम्मेदवार काठमाडौं–२ स्वतन्त्र उम्मेदवार काठमाडौं ३
प्रतिनिधि सभा प्रतिनिधि सभा प्रतिनिधि सभा
९८४९१६२८२० ९८५१२१२१२१
……………… …………….. ………………..
केदारनाथ पाण्डे परशुराम चौधरी डा. ज्ञान बस्नेत
स्वतन्त्र उम्मेदवार काठमाडौं–६ स्वतन्त्र उम्मेदवार सुनसरी–३ स्वतन्त्र उम्मेदवार काठमाडौं–९
प्रतिनिधि सभा प्रतिनिधि सभा प्रतिनिधि सभा
९७६१०८९९९७
………….
दिनेश सुवेदी
संयोजक
नेपाल स्वतन्त्र नागरिक सञ्जाल

 



प्रतिक्रिया दिनुहोस्