विद्या भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन रोक्ने एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयमा के छ ?


काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौं बैठक विधान संशोधनसम्बन्धी प्रस्ताव सुझावसहित सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा साउन ५ र ६ गते बसेको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान व्यक्त गर्ने निर्णयका साथै विभिन्न समसामयिक आठ बुँदे प्रस्ताव पारित गरेको छ ।

बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयमा महत्वपूर्ण निर्णय लिएको छ । केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन नै भण्डारी र अध्यक्ष ओलीबीच च्यासलमा भेटवार्ता भएको थियो । सो भेटमा भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको र अब पछि नफर्कने सन्देश प्रवाह गरेकी थिईन् ।

केन्द्रीय कमिटी बैठकले भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यस्तो छ भण्डारीको सम्बन्धमा केन्द्रीय कमिटीले गरेको निर्णय :

नेपालको संविधानको भाग–६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ । सोही धाराको (२)मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने, सोही धाराको (३) मा राष्ट्रिय एकताको प्रवद्र्धन, सोही धाराको (४)मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा–२६७ को (२)को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ ।

यसले मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ । यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ । त्यसकारण बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ । file photo