डा. महतोले हलेसी दुर्घटनाका घाईतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर लिए स्वास्थ्यबारे जानकारी


काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले हलेसी दुर्घटनाका घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रसिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसी दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको माइक्रोबस आइतबार बिहान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको थियो भने १७ जना घाईते भएका थिए ।

मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडक खण्डको कदुवास्थित डौँठेखोलामा प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर दुर्घटना भएको हो । दुर्घटनामा परी सिरहाको नरहा गाउँपालिका–३ की अन्दाजी २५ वर्षीया ममतादेवी यादवको निधन भएको थियो ।

दुर्घटनामा घाइते भएका १७ जनामध्ये १० जनाको उपचार काठमाडौंमा भएको छ । उनीहरुको अवस्था गम्भीर थियो । डा. महतो आज अस्पताल पुगेर घाइतेहरुको स्वास्थ्यबारे जानकारी लिएको उनका सहयोगी रुकेश कुमार साहले जानकारी दिए । महतोले भनेका छन्-“खोटाङको हलेसी मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परी घाइते हुनुभएका सिराहा निवासीहरुलाई आज उहाँहरुले उपचार गराईरहेको राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छु । घाईतेमध्ये अधिकांश अहिले यही अस्पतालमा उपचार गराईरहनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्यालाभको कामनासमेत गरेको छु । धन्यवाद ।”

यसरी काठमाडौंमा उपचार गराउने घाईतेहरुमा राजु यादव, रामशरण ठाकुरकी श्रीमती, सविता कुमारी यादव, दुर्योधन यादव, मिथिला कुमारी यादव, पूनम यादव, झालु देवी यादव, शिवम शर्मा र दिपेन्द्र यादव रहेका छन् ।