काठमाडौं, २० साउन । संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको “कुलिङ अफ पिरियड” प्रावधानमा भएको छेडखानीमा संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरा, मुख्यसचिव एकनारायण अर्यालबाट नै गम्भीर त्रुटि भएको छानबिन समितिको निश्कर्ष छ ।
कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा रहेको ७ सदस्य छानबिन समितिले आज (मंगलबार) सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा खतिवडालाई पनि यस त्रुटिको नैतिक जिम्मेवार देखाएको छ । तर, खतिवडाले भने गल्ती गरेको भनेर छानबिन समितिले नाम किटान नगरेको कारण आफूले राजीनामा नदिने प्रतिक्रिया दिएका छन् । खतिवडाको प्रतिक्रियालाई लिएर सामाजिक सञ्जालमा आलोचनाको बाढी छ ।
कांग्रेसका जिम्मेवार नेताहरुले यसबारेमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । तर, केही शीर्ष नेताहरु भने खतिवडाको पनि लापरवाही देखिएकोले समितिको सभापतिको जिम्मेवारीबाट अलग हुँदा नै पार्टीको लागि हितकर हुने निश्कर्षमा पुगेका छन् । सभापति शेरबहादुर देउवाले पनि आज आफूनिकट नेताहरुसँग यो विषयमा केही छलफल गरेका छन् । भोलिसम्म देउवाले खतिवडालाई केही निर्देशन दिनसक्ने बताईन्छ ।
सुरुदेखि नै विद्येयकको प्रावधानमा भएको छेडखानीमा खतिवडाको भूमिकालाई लिएर संशय राखिएको थियो । खतिवडाले आफूले गलत गरेको पुष्टि भए पदबाट राजीनामा दिने घोषणा गरेका थिए । पूर्व प्रशासकहरुले समेत छानबिन समितिको प्रतिवेदन आएपछि नैतिकताको विषय उठाएका छन् । खतिवडाले राजनीतिक र नैतिक भूमिका निर्वाह गर्न नसकनेको छानबिन समितिको निश्कर्ष छ । यो भनेको खतिवडालेपनि यसमा गम्भीर त्रुटि गरेको भन्ने स्पष्ट हुने बुझिन्छ ।
यस्तै, सुरुदेखि नै कुलिङ अफ पिरियड’ को विपक्षमा रहेको मुख्यसचिव अर्यालले समेत यो प्रावधान हटाउनको लागि अनावश्यक लविङ गरेको आरोप छ । छानबिन समितिले अर्याल र समिति सचिव दुराले पदीय आचरणअनुसार काम नगरेको भनेर किटान गरेको छ । पदीय आचरणअनुसार काम नगरेको भन्ने गम्भीर गल्ती नै गरेको ठहरिनेछ ।
छानबिन समितिको प्रतिवेदनको कारण खतिवडाको पदीय जिम्मेवारीमा निरन्तरता नहोस भन्ने सन्देश दिएको छ । खतिवडाले गल्ती गरेको कारण नै उनको पदमा खतराको घण्टी बजिसकेको छ । तर, उनी राजीनामा दिने पक्षमा नदेखिएको बुझिएको छ । यसको लागि पार्टीले नै हस्तक्षेप बढाउने बुझिएको छ । file photo




प्रतिक्रिया