काठमाडौं, २५ भदौ । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले जेन–जी पुस्ताले गर्नुपर्ने काम गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको सरकार चलाउने समूहबाट मुक्ति दिलाउन जेन–जीले गरेको आन्दोलन देख्दा आफूलाई खुसी लागेको बताएका हुन् ।
‘जेन–जीले जे गर्यो, तिनीहरुले गर्नैपर्ने काम सुरु गरेको हो । यो अत्याचारी सरकारलाई डाउन गर्ने पर्थ्यो र अहिले सरकार चलाउने समूहबाट हामीलाई मुक्ति दिलाउनुपर्थ्यो । यो पक्का कुरा थियो, जरुरी भइसकेको थियो । कुन कोणबाट आउँछ भनेर हामी पर्खिएका थियौं । आखिरमा जेन–जीले गर्दियो । यो एकदमै राम्रो, खुसी लाग्यो हामीलाई,’– उनले भने ।
साथै, उनले जेन–जीको आन्दोलनमा घुसपैठ भएको पनि आशंका गरे । अब नेपाली सेनाले एकदम कडाइको साथ अनुशासन फर्काउनुपर्ने र युवा नेताहरु अगाडि बढ्नुपर्ने उनले बताए । अब नागरिक सरकार गठन हुनुपर्ने र सेनाले देशको सुरक्षाको जिम्मा लिनुपर्ने उनको भनाइ छ । ‘एउटै आस्था बाँकी छ नेपालमा । त्यो सेना हो । अरु कसैमाथि विश्वास छैन आज । सेनामात्रै हो, सेनाले अब गर्दिन पर्यो,’– उनले भने ।




प्रतिक्रिया