प्रधानमन्त्री ओलीले पद त्याग गर्न ढिला गर्दा अहिलेको अवस्था आएको गगन-विश्वको निष्कर्ष, देउवामाथिको आक्रमणको भर्त्सना


काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले साजिक सञ्जाल खोल्न र पद त्याग गर्न आफूहरुले गरेको आग्रह र दवाबलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गर्न ढिला गर्दा स्थिति थप जटिल बनेको बताएका छन् । आज (बुधबार) संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले प्रधानमन्त्री ओलीको कारण स्थिति थप चर्किएको र अनियन्त्रित भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले यथार्थ आत्मसात गर्न ढिलाइ गर्दा मानवीय क्षति भएको उनीहरुको निष्कर्ष छ ।

‘सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दवाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटक पटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आंकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सहि सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ,’– विज्ञप्तिमा भनिएको छ ।

साथै, सोमबार जेन–जी प्रदर्शनमा सरकारको तर्फबाट अत्यधिक बल प्रयोग भएको पनि महामन्त्रीद्वयको भनाइ छ । उनीहरुले यसलाई गम्भीर अपराध भनेका छन् । यस्तो अपराधको उच्चस्तरीय आयोगमार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ ।

साथै, महामन्त्रीद्वयले अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेको बताएका छन् । विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले लिएको पहलकदमीको महामन्त्रीद्वय थापा र शर्माले स्वागत गरेका छन् । उनीहरुले सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न आग्रह गरेका छन् । नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, सञ्चार जगत, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि उनीहरुले अपिल गरेका छन् ।

जेन–जी पुस्ताको भावनाबमोजिम आन्दोलनलाई निष्कर्षमा पुर्याउन पनि आग्रह गरिएको छ । उनीहरुले संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिने र गर्नुपर्ने बताएका छन् । विधि विहिनताले थप अराजकता निम्त्याउने भन्दै उनीहरुले वार्ताको क्रममा देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाउन भनेका छन् । संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै बेथितिको अन्त्यको मार्गचित्र तय गर्न माग गर्दै उनीहरुले यसमा आफूहरुको समर्थन रहने बताएका छन् ।

साथै, महामन्त्रीद्वयले नागरिकको बोल्ने अधिकारको रक्षाका लागि लडेका कांग्रेसका सभापति शेरबहादुर देउवाउपर भएको आक्रमण र अन्य जो जसमाथि भएका अमानवीय ढङ्गको भौतिक आक्रमणको भर्त्सना गरेका छन् ।