काठमाडौं, असोज २० । भारी वर्षाको कारण इलाममा भएको जनधनको क्षतिपछि सरकारले आजबाट राहत वितरण गर्ने भएको छ । इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार अविरल वर्षापछि गएको भीषण पहिरोमा ज्यान गुमाएका, वेपत्ता भएका र घाइते परिवारलाई आजबाट राहत वितरण सुरु गरिन लागेको हो ।
नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले विभिन्न पालिकाका अध्यक्ष, वडा अध्यक्षको रोहबरमा आजबाट राहत वितरण गरिन लागेको जानकारी दिइन् । उनले भनिन्, ‘हालसम्म जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा पुरिएर ३७ जनाले ज्यान गुमाएका छन् भने एक जना वेपत्ता छन् । घाइते भएका २० जना मध्ये नौ जनाको डिस्चार्ज भइसकेको छ । गम्भीर घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरेर धरान पठाएका छौ । पहिरोले सयौं घर जोखिममा पारेको छ र बाढीले सिंगो बस्ती बगाउँदा दर्जनौं परिवार विस्थापित भएका छन्।’
आइतबार स्थलगत उद्धार गर्न नसकेपछि एकजना गर्भवतीसहित दुई जना घाइतेलाई हेलिकोप्टरबाट उद्धार भएको र प्रतिकुल मौसमका कारण दोस्रो हेलिकोप्टर जिल्लामा आउन नसकेपछि तीन जना घाईतेको जिल्ला अस्पतालमै उपचार भइरहेको उनले बताइन् ।
सोमबार स्थानीय प्रशासन, सेना र सुरक्षाकर्मीको सहकार्यमा राहत वितरणको तयारी भइरहेको जनाउँदै उनले उद्धार तथा राहत कार्यका लागि अप्ठ्यारो भूगोल र सडक अवरोधका कारण चुनौती रहेको बताइन् । बाढी पहिरोले जिल्लाका अधिकांश प्रमुख राजमार्ग अवरुद्ध रहेको र मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ६० भन्दा बढी ठाउँमा साना ठूलो पहिरो खसेकाले तत्काल राजमार्ग खुलाउने सम्भावना नरहेको उनको भनाई छ ।




प्रतिक्रिया