काठमाडौं, २० असोज । नेकपा (एमाले) का युवा नेता तथा पूर्व सांसद सुहाङ नेम्वाङले इलामका प्रत्येक नागरिकको सुरक्षा, पुनर्स्थापना र मनोबलका लागि आफू सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा रहेको बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो बताएका हुन् ।
इलाममा पहिरोको कारण भएको दुःखद् जनधनको क्षतिप्रति उनले गहिरो दुःख व्यक्त गरेका छन् । यो विपत्तिमा उद्धार र राहत कार्यमा खटिएकाहरुप्रति आभार व्यक्त गरेका छन् । यो बीचमा उनले उर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेको तस्विरसमेत सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्,‘स्थानीय प्रशासन, स्थानीय तह, सुरक्षाकर्मी र समुदायका सबैजना उद्धार र राहत कार्यमा खटिनुभएको छ। दिनरात उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीका सुरक्षाकर्मीहरू, स्वास्थ्य क्षेत्रमा निरन्तर लागिरहनुभएका अग्रज मित्रहरू, प्राविधिक कठिनाइका बाबजुद समयमा सूचना र सहयोगका लागि अपील गर्नुभएका पत्रकार अग्रजहरू, साथै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको समर्पण, साहस र मानवीय सेवा प्रशंसनीय छ । सबै जनाबाट भएको पहलकदमीप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु।’
उनले फेशबुकमा लेखेका छन्–
आदरणीय आमा बुवा दाजु भाई तथा दिदि बहिनि सबैमा नमस्कार, सेवारो
अविरल वर्षा र इलामको विपद बारे भेटघाट तथा जानकारी:
केही दिन यता आएको अविरल वर्षाले देशका थुप्रै जिल्लाहरूमा विनाशकारी असर पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार देश भरि ५० भन्दा बढी र इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने केही अझै बेपत्ता छन्। घरहरू क्षतविक्षत भएका छन्, सडक भत्किएर अवरुद्ध छ, विद्युत् आपूर्ति र सञ्चार सेवामा समेत अवरोध उत्पन्न भएको छ । यो कठिन घडीले हामी सबैलाई गहिरो पीडा र चिन्तामा पारेको छ।
इलाम सौन्दर्य, हरियाली र प्राकृतिक सम्पदाको प्रतीक हो, तर यही भाैगाेलिक विशेषताले यस क्षेत्रलाई प्राकृतिक विपत्तिप्रति संवेदनशील बनाएको छ। लगातारको वर्षा र पहाडको भिरालाेपनका कारण भूस्खलनको जोखिम अझ बढेको छ।
धन्यवाद ज्ञापन र सम्मान:
स्थानीय प्रशासन, स्थानीय तह, सुरक्षाकर्मी र समुदायका सबैजना उद्धार र राहत कार्यमा खटिनुभएको छ। दिनरात उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीका सुरक्षाकर्मीहरू, स्वास्थ्य क्षेत्रमा निरन्तर लागिरहनुभएका अग्रज मित्रहरू, प्राविधिक कठिनाइका बाबजुद समयमा सूचना र सहयोगका लागि अपील गर्नुभएका पत्रकार अग्रजहरू, साथै सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईंहरूको समर्पण, साहस र मानवीय सेवा प्रशंसनीय छ । सबै जनाबाट भएको पहलकदमीप्रति म हार्दिक सम्मान व्यक्त गर्दछु।
विशेष गरी गृहसचिवज्यू, प्रमुख जिल्ला अधिकारीज्यू तथा नेपाली सेनालाई उद्धार कार्यमा पुर्याउनुभएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछु। साथै, गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्रीज्युहरू, सचिवज्यूहरू लगायत कर्मचारी अग्रजहरू तथा विपद् व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र अग्रजहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। गृह मन्त्रालयका मन्त्रीज्यू र सचिवज्यूलाई हिजो उद्धारका लागि तत्काल कार्य (Immediate Response) गरिदिनु भएकोमा विशेष धन्यवाद।
मन्त्रालय र प्राधिकरणसँगको छलफलका मुख्य बुँदाहरू:
आज मन्त्रालय र प्राधिकरणमा विस्तृत रूपमा छलफल गरियो। छलफलका मुख्य विषयहरू निम्न छन्:
१. इलाममा भएको मानवीय र भौतिक क्षतिको विषयमा जानकारी दिने लिने र त्यसको व्यवस्थापनका लागि भइरहेका कामहरूबारे छलफल गरियो।
२. यो वर्षअगाडिको विपद्मा भएको घटना र क्षतिको विषयमा पनि समीक्षा भयो।
३. तत्काल बाँकी रहेका उद्धार तथा क्षतिपूर्तिका विषयमा पुन: ध्यानाकर्षण गराइयो।
४. पहिरोका कारण प्रहरीको बसोबास गर्ने ठाउँ यसअघि नै क्षतिग्रस्त हुँदा धेरै ठाउँमा सुरक्षा व्यवस्थापनमा ध्यान दिनुपर्ने कुरा अवगत गरियो।
मन्त्रालय र प्राधिकरणबाट प्राप्त जानकारी तथा निर्णयहरू:
भोलि असोज २१ गते प्रधानमन्त्रीको अध्यक्षतामा विपद् व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै छ भन्ने जानकारी प्राप्त भयो। उक्त बैठकले तत्काल राहत, उचित क्षतिपूर्ति र पुनर्स्थापनाको लागि निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै सोही अनुरूप अनुरोध गरियो।
अन्य:
क. राहत र क्षतिपूर्ति:
परिषद्को विशेष बैठकलाई प्रभावकारी ढंगले अगाडि बढाउने र यथाशक्य सोही अनुरूप काम अगाडि बढाउने।
मृतकका सबै परिवारलाई क्षतिपूर्ति दिने:
एक जना गुमाएको खण्डमा २ लाख रुपैयाँ र
एकभन्दा बढीको मृत्यु भएमा थप प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने (पालिकाबाट व्यवस्थापन गरिने)।
विपद्बाट क्षति भएको घरहरूको हकमा:
अस्थायी व्यवस्थापनका लागि दुई किस्तामा (पहिलोमा रु. २५,०००, दोस्रोमा रु. २५,००० पहिलो बनिसकेपछि) व्यवस्थापन गरिने।
स्थायी पुनर्स्थापनाका लागि पनि उचित व्यवस्थापन गरिने।
विपद् व्यवस्थापनका लागि इलाम जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल हिजो नै ७० लाख रुपैयाँ निकासा गरिएको खबरले केही राहत तुल्याएको छ।
ख. भौतिक पूर्वाधार तथा सेवा:
अवरुद्ध बाटो र पुल यथाशीघ्र खुलाउने।
भत्किएका बाटो र पुल मर्मतका लागि व्यवस्थापनमा मन्त्रालयका अग्रजहरू लागिसक्नु भएको जानकारी प्राप्त भयो। यसका लागि सिंगो अग्रज समूहलाई धन्यवाद।
विद्युत् र इन्टरनेटको हकमा:
इलाममा भोलिसम्म पुन: विद्युत् सञ्चालनमा ल्याउने हिसाबले काम भइरहेको छ।
अवरोधित इन्टरनेट सुविधाबाट जनताले थप सास्ती भोग्नु नपरोस् भनी कार्य अगाडि बढेको छ।
थप अनुरोधहरू:
१. बिगतदेखि अति आवश्यक भूगर्भविद्लाई सम्पूर्ण इलामको माटो परीक्षण गरी आउँदो समयमा यस्तो घटना नहोस् भन्ने सुनिश्चित गर्दै दिगो व्यवस्थापनका लागि पनि अनुरोध गरियो।
२. अहिलेको पटक-पटकको समस्याको समाधान, नागरिकको सुरक्षा र सेवाका निम्ति एकीकृत बस्ती (Integrated Settlement) का लागि पनि सोच बनाउने कुरा राखियो।
मानवीय अपिल:
हामी सबैलाई स्मरण छ, धेरै परिवारहरू विभिन्न किसिमका समस्यामा हुनुहुन्छ। त्यसैले, हामी प्रत्येकले सक्दो रूपमा आफ्नो तर्फबाट जे सहयोग गर्न सकिन्छ, त्यो गर्नुपर्छ। मानवता नै सबैभन्दा ठूलो धर्म हो— यही भावना लिएर एकअर्काप्रति सहानुभूति, सहयोग र संवेदनशीलता देखाऔँ।
म प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, सबै नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न, स्थानीय प्रशासनका निर्देशनहरू पालना गर्न, र सम्भावित जोखिम भएका क्षेत्रमा नजान अनुरोध गर्दछु।
यस कठिन घडीमा हामी सबै एकजुट भएर प्रभावित परिवारहरूलाई सहयोग र राहत पुगोस् भन्ने अपिल गर्दछु। इलामका प्रत्येक नागरिकको सुरक्षा, पुनर्स्थापना र मनोबलका लागि म सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा छु ।
धन्यबाद
२०८२/०६/२०




प्रतिक्रिया