एकाएक सुदनको सक्रियता बढ्यो : दिउँसो एरेस्ट ओली एण्ड लेखक क्याम्पेन, साँझ पक्राउ गर्न जाहेरी लिएर प्रहरीकहाँ पुगे


काठमाडौं, २० असोज । हामी नेपालीका संयोजक सुदन गुरुङले आफ्नो सक्रियता ह्वात्तै बढाएका छन् । उनले आज दिउँसोमात्रै एरेस्ट केपी ओली, एरेस्ट रमेश लेखक र मडर्रर अभियान चलाएका थिए । दिउँसो सामाजिक सञ्जालमार्फत एरेष्ट क्याम्पेन चलाएका गुरुङ साँझ भने उनीहरुलाई तत्काल पक्राउ गर्न भन्दै जोहरी लिएर प्रहरीकहाँ पुगेका हुन् ।

सुदन जेन-जी आन्दोलनका केही अगुवा लिएर आज जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता गर्न गएका थिए । तर, प्रहरीले उनको जाहेरी लिएन । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले काम गरिरहेको अवस्थामा अहिले जाहेरी लिन नसकिने प्रहरीको जवाफ थियो ।

जाहेरी लिएर सुदनको टोली पुग्दा प्रहरी अधिकृतहरुसँग एकछिन भनाभनको अवस्था सिर्जना भएको थियो । प्रहरी परिसरबाट बाहिरिएका सुदनले सडकबाटै आफ्नो तागत देखाउने चूनौति दिएका छन् । प्रहरी मुख्यालयले भने काठमाडौंको सुरक्षा अवस्था एकदमै मजबुद बनाएको छ ।