२८ जना युवा नेताहरूको संयुक्त अपिल: राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुकाे पूनर्गठन हुनै सक्दैन (विज्ञप्तीसहित)


काठमाडौं, २१ असोज । जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे एमाले, माओवादीलगायतका विभिन्न दलका युवा नेताहरुले आ आफ्ना दलहरुलाई पूनर्गठन गर्ने काममा कुनैपनि ढिलाई नगर्न दोस्रो र तेस्रो तहका नेताहरुलाई आग्रह गरेका छन् ।

राजनीतिलाई भ्रष्टाचारमुक्त गर्ने मागका साथ जेनजीले आयोजना गरेको शान्तिपूर्ण र गरिमापूर्ण आन्दोलनमाथि सरकारले गरेको कायरतापूर्ण आक्रमण र नरसंहारमा जीवन आहुति दिने सबैप्रति उनीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । जेनजीले नेपालमा राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस भन्ने चाहेको पनि उनीहरुले उल्लेख गरेका छन् ।
एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेना, अरविन्द सिंहलगायत २८ जना युवा पुस्ताका नेताहरुले आज संयुक्त विज्ञप्ती जारी गरेर पार्टी पूनर्गठनको लागि आह्वान गरेका हुन् ।

उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘आज हामी अस्थिरताका ठूला चूनौति र लोकतान्त्रिक भविष्यका ठूला सम्भावनाका बिचमा छौं । राजनीतिक दलहरुमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरुको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन एउटा बाटो हो । दलहरुमा अलमल, पूरानै नेताहरुको निरन्तरता, समाजमा अन्यौल, निराशा र आक्रोश बढाउने शक्तिहरुको बोलबाला, बाहिरी शक्तिहरुको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरुको पुनर्गठन आजको मुख्य शर्त हो । लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुका पूनगर्ठन हुनै सक्दैन । त्यसैले आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनैपनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोस्रो र तेस्रो तहका नेताहरु र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आहवान गर्दछौं ।’