काठमाडौं, २२ असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले जेन–जी आन्दोलनका क्रममा चारवटै सुरक्षा निकायका मान्छेहरु बिकेको आरोप लगाएका छन् । आज (बुधबार) एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनका क्रममा चारवटै सुरक्षा निकायका मान्छे बिकेको कारण घटना घट्न पुगेको बताएका हुन् ।
गत भदौ २३ र २४ गते जेन—जी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको थियो । पूर्व मुख्यमन्त्रीसमेत रहेका अधिकारीले भने, ‘चारै सुरक्षा निकायका मान्छेहरु बिकेका हुन् । त्यसकारण यो घटना भयो ।’
साथै, नेता अधिकारीले फरक प्रसंगमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरेर देखाउन चुनौति दिए । उनले ओलीलाई गिरफ्तार गरिएको खण्डमा कास्कीबाट एमालेले सबैभन्दा ठूलो जुलुस निकाल्ने बताए । ‘केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्यो भने कास्की सबैभन्दा ठूलो जुलुस निकाल्नेछ,’– उनले भने ।




प्रतिक्रिया