रास्वपाको सचिवालय बैठक : निर्वाचनको खाका तयार पार्न कार्यदल गठन, स्वर्णिमलाई उच्च संवादको जिम्मा


काठमाडौं, २४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको आगामी फागुन २१ गते हुने निर्वाचनको लागि एकीकृत निर्वाचन खाका तयार पार्नको लागि सुझाव संकलन कार्यदल गठन गरेको छ ।रास्वपाको आज बसेको पार्टी सचिवालयको बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्ण गरेको हो ।

उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने भनिएको रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तीमार्फत जनाइएको छ । यस्तै, वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गर्ने अर्को निर्णय भएको छ ।