राष्ट्रपति र जेन-जी प्रतिनिधिबीच आज छलफल नहुने


काठमाडौं, असोज २५ ।राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी प्रतिनिधिबीच आज हुने भनिएको छलफल सरेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा सुरु हुन लागेको छलफल सुरु नहुँदै विरोध सुरु भएपछि पर्सी सोमबारका लागि छलफल सरेको हो ।

स्रोतका अनुसार छलफलमा सहभागी जेन-जी प्रतिनिधिको विषयमा विरोध उत्पन्न भएपछि सोमबार दिउँसो ३ बजे बस्नेगरी बैठक सारिएको छ । प्रधामन्त्री शुशिला कार्कीको उपस्थितिमा राष्ट्रपति कार्यालय शितल निबासमा सुरु भएको जेन-जी समूहसँगको वार्तामा अन्य जेन-जी प्रतिनिधीलाई प्रवेश नदिएको भन्दै राष्ट्रपति कार्यालय अगाडि बिरोध प्रदर्शन भइरहेको छ ।

जेन-जी युवाहरुको वार्ता टोलीलाई सहभागी नगराएर सुदन गुरुङको टोलीमात्र शितल निवासभित्र प्रवेश गराएको भन्दै युवाहरुले नाराबाजी गर्दै विरोध जनाइरहेका छन् । ठूलो संख्यामा शीतल निवास अगाडि जम्मा भएका युवाहरु आफूहरुलाई पनि भित्र जान दिनुपर्ने भन्दै प्रहरीलाई दवाव दिइरहेका छन् । केहीले सुधन गुरुङहरुको विरोधमा नारासमेत लगाएका छन् ।