काठमाडौं, २८ असोज । नेकपा (एमाले) का नेता सूर्यबहादुर थापा क्षेत्रीले नेपालको संविधानबमोजिम प्रतिनिधिसभा अहिले पनि जीवित रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रतिनिधिसभा विघटन नभएको दाबी गरेका हुन् । नेता थापाले एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको, कांग्रेस पनि सोही बाटोमा रहेको र त्यसमा माओावदीले पनि साथ दिने बताए ।
संसद् विघटनको नाममा राष्ट्रपति पौडेलले कुनै एउटा व्यक्तिले गरेको सिफारिसका आधारमा नेपाली जनताले बताएको संविधानको गला निमोठ्ने काम गरेको उनको टिप्पणी छ । प्रतिनिधिसभा पुनर्स्थापना गरेर जेन–जीहरुको जायज मागहरुमा संसद्को माध्यमबाटै निकास खोजिने उनले बताए ।
‘नेपालको संविधानबमोजिम संसद् अहिले पनि जीवित छ । विघटन भएको छैन । रामचन्द्र पौडेलले कुनै एउटा व्यक्तिले गरेको सिफारिसको आधारमा जनताले बनाएको संविधानको गला निमोठ्न पाइन्छ ? प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने, जेन–जीका जायज मागहरुको बारेमा संसद्को माध्यमबाटै संविधान संशोधन गरेर, नयाँ कानून बनाएर, संवाद, सहमति गरेर निकास संसद्मार्फत नै दिन सकिन्छ,’– उनले भने ।
संविधानले चिन्दै नचिनेको व्यक्तिले सिफारिस गरेको आधारमा प्रतिनिधिसभा विघटन नहुने उनको भनाइ छ ।




प्रतिक्रिया