काठमाडौं, २८ असोज । युवा कर्पोरेट वकिल केशव भट्टराईलाई वर्तमान सरकारमा महत्वपूर्ण जिम्मेवारीसहित सहभागी गराउनेगरि गृहकार्य थालिएको छ। वर्तमान सरकारमा उनलाई युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा ल्याउने पहल थालिएको चर्चा छ ।
एक दशकभन्दा बढि समयदेखि सक्रिय रहेका भट्टराईले कर्पोरेट ट्रान्ज्याक्सन, वैदेशिक लगानी, पूर्वाधार, बौद्धिक सम्पत्ति तथा नियामक अनुपालनमा विशेषज्ञता हाँसिल गरेका छन् । उनी हाल लेक्स भेञ्चर्स प्रा.ली. का सिईओको जिम्मेवारीमा छन् । जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । युवाहरुले अहिले कार्की सरकारमा काविल अनुहार पठाउनेगरि दबाब बढाएका छन् । जसमा भट्टराईको नामपनि अग्रपँक्तिमा छ ।
मन्त्रीको लागि नाम चर्चामा रहेका भट्टराई शिक्षा क्षेत्रमा झण्डै एक दशक समय व्यतित गरेका व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेश्नल ल कलेजमा सह–प्राध्यापकका रुपमा भावी कानूनविद्हरुलाई मार्गदर्शन गर्दै आएका छन् । उनी योङ् लयर्स एशोसिएसन अफ नेपालका सह–संस्थापक तथा कोषाध्यक्षसमेत हुन् । सो प्लाटफर्ममार्फत उनले युवाको आवाजलाई संस्थागत गर्दै आएका छन् । उनी सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । फ्रिडम स्टुडियोको संस्थापक सदस्य तथा महासचिवका रुपमा उनले विभिन्न अभियानसमेत चलाएका छन् ।

भट्टराईको गहिरो रुचि खेलकुद विधामा पनि छ । उनले अन्तर्राष्ट्रियस्तरमै आईसिसीबाट अम्पाईरिङ र पिच कुरेटरसम्बन्धी कोर्षहरु लिएका छन् । उनी खेलकुद प्रशासन र व्यवस्थापनमा राम्रो मानिन्छन् । भट्टराईले अमेरिकाका ओहियो नर्थन विश्वविद्यालयबाट रुल अफ ल एण्ड गभर्नेन्समा एलएलएम गरेका छन् । यस्तै, नेपालको त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति र विकास अध्ययन विषयमा मास्टर गरेका छन् । उनले काठमाण्डु स्कुल अफ ल (पूर्वाञ्चल विश्वविद्यालय) बाट एलएलबी हाँसिल गरेका छन् ।
उनले आफूले राष्ट्रलाई राम्रो योगदान दिनसक्ने बताउने गरेका छन् । उनले आफ्नो सम्पूर्ण करियर युवाको शक्ति, खेलकुदको सम्भावना र राष्ट्रको भविष्यलाई जोड्ने पुल बन्ने यात्रामा समर्पित रहेको स्पष्ट पारेका छन् । युवाहरुको क्षमता अभिवृद्धिको लागि आफूले निरन्तर शैक्षिक, व्यावसायिक र सामाजिक अभियानमार्फत काम गरेका छन् ।




प्रतिक्रिया