काठमाडौंमा राती नौ बजेपछि देउसीभैली खेल्न रोक


काठमाडौं, कार्तिक १ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती नौ बजेपछि देउसीभैली खेल्न रोक लगाएको छ । दिपावलीको अवसरमा देउसीभैलोलगायतका कार्यक्रम गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले गर्न आग्रह गर्दै कुनै गुनासो नआउने गरी बेलुका नौ बजेसम्म मात्रै देउसीभैलो खेल्न प्रशासनले सूचना जारी गरेको छ ।

कानुनद्वारा वर्जित गतिविधि नगर्न आग्रह गर्दै प्रशासनले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिसबाजी, पटाका, भुइँचम्पा वा अन्य कुनै विष्फोटक तथा आगलागी हुने पदार्थको खरिद बिक्री, ढुवानी भण्डारण र प्रयोग नगर्नसमेत सचेत गराएको छ ।

“सार्वजनिक आवागमन हुने सडक मार्गमा अवरोध हुने गरी देउसीभैलो खेल्न पाइने छैन । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्ग जस्ता स्थानमा आम सर्वसाधारणको आवागमनलाई वाधा पर्ने गरी कुनैपनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव थल बनाउन पाइने छैन”, सूचनामा उल्लेख छ ।