माधव नेपाललाई एक साता कुर्ने, एकता नभए माओवादीको अधिवेशनमा केन्द्रित हुने प्रचण्डको तयारी


काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पार्टीको मंसिरमा हुने महाधिवेशनमा केन्द्रित भएका छन् । मंसिरमा महाधिवेशन सम्पन्न गराउनको लागि आवश्यक प्रक्रिया थाल्ने दाहालको तयारी छ । यो बीचमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग एकताको लागि गृहकार्य गरेका दाहालले अब एक सातासम्म पनि एकता नभए माओवादीलाई पूर्ण रुपमा महाधिवेशनमा होम्याउने भएका छन् ।

आफूनिकट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पछिल्लो भेटमा दाहालले अब महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका छन् । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच एकताको लागि अन्तिम गृहकार्य भैरहेको छ । तर, एकीकृत समाजवादीमा तत्काल एकता गर्न नहुने मत बलियो हुन थालेपछि दाहालले एक साता कुर्ने मनशाय बनाएका छन् । त्यो अवधिमा पनि एकता नभए माओवादीको महाधिवेशनमा लाग्ने उनको तयारी छ ।

उनले तल्लो कमिटीदेखि माथिल्लो तहसम्म सबै अधिवेशन सकेर अब मंसिरको लागि महाधिवेशनमा होमिनुपर्ने भनेका छन् । प्रचण्डले मंसिरमा हुने महाधिवेशनमा आफू नेतृत्वमा नआउने आश्वस्त पारेका छन् । आफू कुनै न कुनै भूमिकामा बसेर भएपनि पार्टीमा पुनर्ताजगी भर्ने योजना बनाएका छन् । file photo