भारत सरकारद्वारा मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरण हस्तान्तरण


काठमाडौं, ४ मंसिर । भारत सरकारले विपद्पछिको कनेक्टिभिटीलाई सुदृढ गर्दै नेपालको हेटौंडामा ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज (बिहीबार) हेटौंडामा आयोजित एक समारोहबीच नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुमालन घिसिङलाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरे अनुसार भारत सरकार कुल दशवटा यस्ता ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिबद्ध रहेको नेपालस्थित् भारतीय दूतावासले जनाएको छ । नेरु.७३ करोडभन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरु भारतले अनुदानको आधारमा प्रदान गरिरहेको छ ।

आज हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइने भएको छ । जहाँ सन् २०२५ अक्टोबरमा भारी वर्षा पछि सडक कनेक्टिभिटी प्रभावित भएको थियो । गत वर्ष सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि भारत सरकारले नेरु. ४१ करोड बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरु उपलब्ध गराएको थियो । जसमध्ये ४ वटा जडान भइसकेको दूतावासले जनाएको छ ।

कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरुको आपूर्ति भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको दिगो सम्बन्धको शक्तिशाली प्रमाण भएको र नेपालको पूर्वाधार विकास र विपद्पछिको पुनर्निर्माण प्रयासहरुका लागि सबै सम्भव सहयोग उपलब्ध गराउने भारत सरकारको नीतिलाई पुष्टि गरेको बताए ।

यस्तै, भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले भारतको निरन्तर र महत्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गरे । उनले छिटो जडान गर्न सकिने यस्ता पुलहरु तथा पुल जडान गर्न प्रयोग हुने उपकरणहरुको उपलब्धता आपतकालीन पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरेका थिए । मन्त्री घिसिङ्ले पुल छिट्टै सञ्चालनमा ल्याइने आश्वासन पनि दिएका छन् । पुनर्निर्माण तथा विपद् न्यूनीकरण प्रयासहरुमा भारत सरकार नेपाल सरकार र नेपाली जनतालाई निरन्तर सहयोग गर्दै जाने कुरामा प्रतिबद्ध रहेको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।