‘बारा घटनाले प्रतिनिधिसभा पूनःस्थापना हुनुपर्छ भन्ने पार्टीको निश्कर्षलाई पुष्टि गरेको छ’


काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) ले प्रतिनिधिसभा पूनःस्थापना भएपछिमात्र अहिलेको संकटको हल हुने र देशले निकास पाउने दाबी गरेको छ ।हिजो बसेको सचिवालय बैठकमा समेत यो विषयमा छलफल भएको थियो । देशलाई निकास दिन प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ भन्ने पार्टीको निष्कर्षलाई बारा घटनाले पुष्टि गरेको ठहर एमालेको सचिवालय बैठकले गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकबाट पार्टीको ११औं राष्ट्रिय महाधिवेशन भव्यरूपमा सम्पन्न गर्नका लागि विभिन्न १४ वटा समिति गठन गरिएको ज्ञवालीले जनाए । बैठकले महाधिवेशनको सचिवालय व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको समिति गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव योगेश भट्टराई सदस्य चयन भएका छन् । उक्त समितिमा अन्य समितिका संयोजकहरू र सूचना प्रविधि टिमका संयोजक पनि सदस्यका रूपमा रहने जनाईएको छ ।