काठमाडौं, ५ मंसिर । प्रगतिशील अभियान नेपालका संयोजक जनार्दन शर्माले अझैपनि परिवर्तनका धेरै लक्ष्यहरु अधुरा रहेको र भ्रष्टाचार मौलाएको बताएका छन् । तत्कालिन माओवादी र ७ दलबीच शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको अवसरमा शर्माले यस्तो टिप्पणी गरेका छन् ।
उक्त सम्झौताले राजतन्त्रबाट गणतन्त्रमा रुपान्तरण, समावेशी, संघीय संविधान, मानवअधिकारको पूनःस्थापना र दीर्घकालिन राजनीतिक स्थायित्वतर्फको यात्राको आधार तयार गरेको पनि उनले दाबी गरेका छन् । तर, १९ वर्षपछि पनि परिवर्तन्का धेरै लक्ष्यहरु अधुरा रहेको उनको टिप्पणी छ । द्धन्द्धपीडितले अझै न्याय नपाएको पनि उनले स्मरण गराएका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी र ७ दलबीचको शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको छ। २०६३ मंसिर ०५ गते शान्ति सम्झौतामा हस्ताक्षर भएपछि सिंगो देश एक मत र एक ढिक्का भएको ऐतिहासिक क्षण हामी सबैको निम्ति प्रेरणादायी स्मृति रहिआएको छ। हामीले केवल इतिहास स्मरण गर्ने होइन, त्यसले दिएको सीखलाई वर्तमानमा लागू गर्ने अवसरका रूपमा लिनुपर्छ।
यो सम्झौताले राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण, समावेशी, संघीय संविधान, मानवअधिकारको पुनस्र्थापना र दीर्घकालीन राजनीतिक स्थायीत्व तर्फको यात्राको आधार तयार ग¥यो। तर १९ वर्षपछि पनि परिवर्तनका धेरै लक्ष्यहरू अधुरा छन्—भ्रष्टाचार माौलायो, सुशासन झन् झन टाढा हुँदै गयो, सामाजिक न्याय हुन सकेन, युवाले स्वदेशमा अवसर पाएनन्, देशको समृद्धिले गति लिन सकेन र द्वन्द्वपीडितले न्याय पाएका छैनन्। पुराना राजनीतिक दलका नेतृत्वहरु झन झन् असक्षम हुँदैछन् , व्यक्तिगत स्वार्थ सिद्धिको निम्ति सिंगो देशलाई द्रुतगतिले पतनको बाटोमा लैजानु आजको प्रमुख चुनौती हो ।
जनताले पटक पटक मौका दिंदा पनि झन झन गल्ती गर्ने दलवाट फेरि पनि आशा गर्नु आफ्नै मुर्खता हुने हुँदा अब पुराना दल भित्रका परिवर्तन चाहने नेता, कार्यकर्ता, समर्थक र २०८२ को नवयुवा (जेन–जी) बिद्रोहका पक्षधरहरुले नयाँ राजनीतिक संकल्प सहित एकताबद्ध हुन आवश्यक छ।
समस्या जति गहिरो भए पनि संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाले नै स्थायी समाधान दिन्छ। यस १९ वर्षले हामीलाई सिकाएको मूल कुरा यही हो । जनयुद्ध र संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र शान्ति प्रकृया समेतका बाँकी कार्यभार पूरा गर्ने दृढ संकल्प सहित हामी सबै एकताबद्ध भएर अघि बढौ, यहि आव्हान सहित हार्दिक शुभकामना व्यक्त गर्दछु।




प्रतिक्रिया