काठमाडौँ, ३ मङ्सिर। पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले आफ्नो व्यावसायिक आम्दानीको ७ प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन्। लामो समयदेखि पर्यटन क्षेत्रमार्फत सयौलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिदै आएका सापकोटाले पर्यटन मार्फत सामाज विकासलाई अघि बढाउन योगदान गर्ने उद्देश्यले हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) नामक सामाजी सस्था समेत स्थापना गरेका छन्।
सापकोटाले आफु संलग्न ट्रेकिङ, होटल, जलविद्युत तथा हेलिकप्टर व्यवसायबाट प्राप्त नाफाको ७ प्रतिशत रकम अबदेखि ट्रस्टमार्फत पर्यटन प्रवर्द्धन, ग्रामीण विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका कार्यक्रममा खर्च गर्ने बताए । उनले भने— “पर्यटनले दिएको अवसरलाई समाजमा प्रत्यक्ष फर्काउन चाहन्छु। ग्रामीण क्षेत्रको जीवनस्तर उकास्न, स्थानीयलाई अवसर दिन र ग्रामिण पर्यटनलाई दीगो बनाउन ट्रस्ट मार्फत योगदान गर्न चाहन्छु ।”
उनका अनुसार ट्रस्टले ग्रामीण क्षेत्रमा पर्यटनको प्रत्यक्ष लाभ पुग्ने गरी स्थानीय सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्नेछ। धेरै गाउँमा प्राकृतिक र सांस्कृतिक सम्पदा भए पनि संरचना र अवसरको अभाव भएकाले त्यहाँका नागरिक पर्यटनको फाइदा पाउन नसकेको सापकोटाको भनाइ छ। सापकोटाले निजी क्षेत्रले केवल नाफा मात्रै केन्द्रित हुनु नहुने स्पष्ट गर्दै भने—“आज एउटा सफल व्यवसायीले समाजलाई पनि समृद्ध बनाउन सक्ने क्षमता राख्नुपर्छ। व्यवसायले दिएको आयलाई समाजमा पुनः वितरण गर्नु निजी क्षेत्रको कर्तव्य पनि हो।”
सापकोटाले पर्यटनसँग सम्बन्धित अन्य व्यवसायीहरूलाई पनि सामाजिक सेवामा हातेमालो गर्न आग्रह गर्दै नेपालजस्तो देशमा निजी क्षेत्रको सक्रियता बिना ग्रामीण क्षेत्रको दिगो परिवर्तन सम्भव नभएको स्पस्ट पारे । हिमालयन कम्युनिटी प्रोजेक्ट (ट्रस्ट) को मुख्य उद्देश्य ग्रामीण पर्यटन विकास तथा प्रवर्द्धन, स्थानीय रोजगार सिर्जना, शिक्षा तथा स्वास्थ्यमा सहयोग, पर्यटन क्षेत्रमा आवश्यक तालिम र क्षमता विकास, दुर्गम क्षेत्रमा आधारभूत संरचना निर्माणमा सहयोग, समाजको समग्र जीवनस्तर उकास्ने दीगो कार्यक्रम सञ्चालन रहेको समेत सापकोटाले बताए।
सापकोटाले आफ्नो घोषणा केवल औपचारिकता नभई दीर्घकालीन सामाजिक लगानीका रूपमा अघि बढाइने समेत उल्लेख गरे। उनी भन्छन्—“समाजले दिएको साथ–समर्थनकै कारण म यहाँसम्म आएको हुँ। अब समाजका आवश्यकता र विकासका काममा प्रत्यक्ष योगदान गर्नु मेरो कर्तव्य हो।” निरन्तर समाज सेवामा योगदान गर्दै आएका सापकोटाले आगामी दिनमा ट्रस्ट मार्फत स्वास्थ्य शिविर, छात्रवृत्ति, महिला तथा युवा उद्यमशीलता, सीप विकास तालिम तथा ग्रामीण पर्यटन प्रवर्द्धनका कार्यक्रम विस्तार गर्ने योजना रहेको उल्लेख गरे ।




प्रतिक्रिया