Logo

तीव्र आवेश, आवेग र अर्धबेहोसीमा नारा लगाएछु : हिसिला यमी



काठमाडौं, २१ चैत । नयाँ शक्ति नेपाल पार्टीकी नेत्री हिसिला यमीले आवेश र अर्धचेतमा नाराबाजी गर्दा आफूले गल्ती गरेको बताएकी छन्।

पूर्वमन्त्री समेत रहेकी यमीको नारा आपत्तिजनक भएको भन्दै सर्वत्र विरोध भएपछि उनले आज पत्रकार सम्मेलन गरेर त्यसको स्पष्टिकरण दिएकी हुन्। ‘झण्डै एक घण्टाजतिको सकस र ठेलमठेलमा म अर्धमुर्छित जस्तै हुन पुगेछु । त्यो वेला मेरा पति डा. बाबुराम भट्टराई लगायत अन्य साथीहरुले मलाई सम्हालेर राख्नुभएको थियो’, यमीले भनिन्, ‘त्यसैबीच सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे। म त्यो वेला आवेस र अर्धचेतकै अवस्थामा थिएँ। तीव्र आवेशमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु। त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको ‘यो आदेश खारेज हुनुपर्छ’ भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछ।’

उनले आफू जनजाति समुदायकी छोरी भएकोले नेपाली भाषामा राम्रो दखल नभएको तर्क गर्दैे आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा आफूले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको जिकिर गरेकी छन्।

‘पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें’, यमीले भनिन्, ‘ यो पवित्र मातृभूमिका विरुद्ध कुनै पनि अपमानजन्य कुरा म बोल्न त के सोच्न पनि सक्दिनँ । तर त्यो परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दुखित छु।’ उनले आफूले बेहोसीमा बोलेको कुराप्रति क्षमायाचना समेत गरेकी छन्।

नयाँ राजनीतिक दललाई चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध आइतबार भएको धर्नामा यमीले ‘देश खारेज गर’ भन्ने नारा लगाएकी थिइन्।



प्रतिक्रिया दिनुहोस्