Logo

आर्थिक प्रलोभनका कारण हत्या: राज्यमन्त्री बानियाँ



जाजरकोट, २१ चैत । चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको गृहराज्यमन्त्री इन्द्र बानियाँले बताउनुभएको छ ।

जाजरकोट सदरमुकाममा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अहिले अनुसन्धानमा अपराध अनुसन्धान ब्युरो, विभिन्न प्रविधि प्रयोग भएका कारण हत्याराको पहिचान भइसकेको उहाँले बताउनुभयो ।

अप्ठ्यारो ठाउँमा नै बढी आपराधिक घटना हुने गरेको भन्दै माओवादीको युद्ध पनि अप्ठ्यारो ठाउँबाट भएको उहाँले बताउनुभयो । जिल्लाका एनजिओ सुरक्षाका कारण देखाउँदै गाउँ जान अस्वीकार गरिरहेका बेला निर्धक्क भएर गाउँमा काम गर्न आग्रह गर्दै सरकारले शान्ति सुरक्षाको पाटो मजबुत बनाएको दाबी गर्नुभयो ।

जिल्लामा छ जना प्रहरी निरीक्षकको दरबन्दी भएकोमा अहिले एकजना मात्रले काम चलाएको पाइएकाले तुरुन्तै दरबन्दीअनुसारको सुरक्षाकर्मी पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं १ का सभापति महेन्द्र शाहले हत्या भएका रवीन्द्र शाहलाई सरकारले सहिद घोषणा गर्न माग गर्नुभयो । निर्वाचन आचारसंहिता लागेका बेला गृहराज्यमन्त्री इन्द्र बानियाँले हेलिकप्टर प्रयोग गरेको भन्दै आलोचनासमेत भएको छ । प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले आचारसंहिता विपरीत मन्त्रीले यस्तो गर्नु राम्रो नभएको बताउनुभयो ।

राज्यमन्त्री बानियाँ आज बिहान ११ बजे हेलिकप्टरबाट आएर अपरान्ह ४ बजे काठमाडौँ प्रस्थान गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्