Logo

प्राधिकरणको बक्यौताबारे गलत प्रचारमा दुःख व्यक्त



 

काठमाडौँ, २१ चैत । नेपाल विद्युत् प्राधिकरणले करिब रु ४४ लाख मात्रै खानेपानीको महसुल तिर्न बाँकी रहेको जनाएको छ ।

प्राधिकरण गठन हुनु अगावैदेखि विभिन्न आयोजनाको नाममा समेत सो परिमाणको रकम बक्यौता रहेको पाइएको उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जानकारी गराउनुभएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणले रु ५० करोड बक्यौता तिर्न बाँकी रहेको भन्ने विषय सत्य नभएको भन्दै प्रवक्ता अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले हालसम्म कुनै पनि लिखित तथा मौखिक आग्रह समेत नगरेको बताउनुभयो ।

“लिखितरुपमा कुनै पनि प्रकारको आग्रह गरिएको छैन, प्राधिकरणलाई लिखित आग्रह आए हामी बक्यौता रकम बुझाउन तयार छौँ, तर हुँदै नभएको विषयमा नकारात्मक प्रचार गरिनु गलत छ । प्राधिकरण दुःख व्यक्त गर्दछ”–प्रवक्ता अधिकारीले भन्नुभयो ।

प्राधिकरणलाई सामान्यरुपमा जानकारी नगराइकन बक्यौताको विषयमा गलत प्रचार भएको भन्दै प्रवक्ता अधिकारीले सयौँ आयोजनालाई विद्युत् खरिद वापतको रकम भुक्तानी गरिरहेको, स्वदेशी तथा भारतबाट आयात भएको विद्युत्को महसुलसमेत समयमा बुझाइएको अवस्थामा खानेपानीको महसुल नतिर्ने भन्ने हुँदै नहुने स्पष्ट पार्नुभयो ।

‘उज्यालो नेपाल अभियान’ सञ्चालन गरिरहेको प्राधिकरणले सबै हरहिसाब पारदर्शी एवम् चुस्तदुरुस्त राखेकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पनि कुन समयको कति महसुल हो सोको विवरण उपलब्ध गराउन समेत आग्रह गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्