Logo

काठमाडौंका सडकमा हर्न बजाउन रोक, बजाए जरिवाना



काठमडौं २२ चैत । सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् ।  यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको चैत २० गतेको संयुक्त बैठकले हर्न बजाउन नपाउने व्यवस्था कार्यान्वयन सुरु गर्ने निर्णय गरेको हो ।

सडकमा गुड्ने यातायातका साधनले अब विशेष अवस्थाबाहेक हर्न बजाए जरिबाना तिर्नुपर्ने छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ कोे दफा १६४ को ग अनुसार जथाभाबी हर्न बजाए जरिबाना गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा बसेको बैठकले २०७४ वैशाख १ गतेदेखि यो नियम लागू हुने निर्णय गरेको छ ।

जथाभाबी हर्न बजाए पहिलोपटक पाँच सय, दोस्रोपटक एक हजार र तेस्रोपटक एक हजार पाँच सय जरिबाना।

अनावश्यक ध्वनिका कारण मानसिक तनाव बढ्ने, रिस उठ्ने, टाउको दुख्ने, अध्ययन गर्न मन नलाग्ने समस्या हुने चिकित्सकको भनाइ छ ।

ध्वनि प्रदूषणका कारण यातायात साधनका हर्न, जहाजले निकाल्ने आवाज र मेसिनहरू मुख्य हुन् ।

गाडीको हर्न नियन्त्रण गरे ३० प्रतिशत ध्वनि प्रदूषण नियन्त्रण हुने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा= करवीरनाथ योगीले बताए ।

ध्वनि प्रदूषण अदृश्य रोग भएकाले अधिकांश रोग यसैबाट विकास हुँदै जाने उनले बताए ।

हाम्रो समाजमा विश्व स्वास्थ्य संगठनले तय गरेको ध्वनिभन्दा तेब्बर बढी भएको चिकित्सकको भनाइ छ । -अन्नपूर्णपोष्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्