Logo

उच्च अदालतलाई जिल्लाको जवाफ, कालोबजारीमा दुगड सञ्चालकको संलग्नता पुष्टि



काठमडौं २२ चैत ।
जिल्ला अदालत काठमाडौंले खाद्यान्न तथा खानेतेलको कालोबजारीमा केएल दुगड ग्रुपका सञ्चालकहरू दोषी रहेको प्रस्ट पार्दै उच्च अदालत पाटनमा पत्राचार गरेको छ ।

नाकाबन्दीको पीडामा रहेका नेपालीलाई ९ करोडभन्दा बढी ठगी गरेको दुगड सञ्चालकलाई साधारण धरौटी लिएर छाड्नुको कारणसहित मागेको कैफियत प्रतिवेदनमा जवाफ पेस गर्दै जिल्ला अदालतका स्रेस्तेदारले उनीहरू दोषी नै देखिएको जवाफ पठाएका हुन् । उच्च अदालतले धरौटीमा छाड्न आदेश गर्ने न्यायाधीश र स्रेस्तेदारलाई कैफियत प्रतिवेदन बुझाउन आदेश दिएपछि यस्तो जवाफ पठाइएको छ ।

जिल्ला अदालतले पठाएको प्रतिवेदनमा कालोबजारीमा संलग्न अभियुक्त दुगड सञ्चालकको बयान, थुनछेकको आदेश, जाहेरवालाको दाबी, साक्षीको बयानलगायत सम्पूर्ण विवरण पेस गर्दै ‘दुगड ग्रुपका सबै सञ्चालकहरू कालोबजारीमा संलग्न नरहेको भन्ने अवस्था नदेखिएको’ उल्लेख छ । अदालतले तत्काल प्राप्त प्रमाणबाट दुगडका सञ्चालकहरू दोषी होइनन् भन्ने कुनै आधार नदेखिएकै कारण व्यक्तिअनुसार फरक–फरक धरौटी माग गरिएको पनि उल्लेख गरेको छ ।

कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालक किसनलाल दुगड, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न सादा पोसाकमा विशेष संयन्त्र बनाई परिचालन गरेको प्रहरी टोली उपत्यका केन्द्रित बनेकै बेला जिल्ला अदालतले साधारण धरौटी लिएर रिहा गरेपछि अभियुक्तले उन्मुक्ति पाएका थिए ।

तर, उच्च अदालतलाई भने अभियोग प्रमाणित हुने अवस्था रहेको जनाई सोही आधारमा धरौटी लिइएको जवाफ पठाइएको छ । डेढ वर्षअघि काठमाडौं प्रहरी परिसरले केएल दुगडको जडीबुटीस्थित गोदाममा छापा मारी बढी मूल्यमा बेच्न स्टिकर परिवर्तन गरिएको चार ट्रकभन्दा बढी खानेतेल बरामद गर्दै ९ करोडभन्दा बढी बिगो कायम गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । त्यसबेला दुगड सञ्चालकले मुद्दा अगाडि नबढाउने ठूलै रकम अफर गरेको काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विक्रमसिंह थापाले नै खुलासा गरिसकेका छन् ।
राजधानीबाट



प्रतिक्रिया दिनुहोस्