Logo

सडक खाना महोत्सव



कलैया, २२ चैत । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूलनाराका साथ बाराको सिमरामा पहिलो पटक ऐतिहासिक ‘सडक खाना महोत्सव’को आयोजना हुने भएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होटल व्यवसायी सङ्घ सिमरा बाराद्वारा आयोजित उक्त महोत्सव यही चैत ३१ गतेदेखि २०७४ वैशाख १ गतेसम्म सञ्चालन हुने होटल व्यवसायी सङ्घका अध्यक्ष मोहन शर्माले बताउनुभयो ।

सिमरा एयरपोर्टसँगैको खुल्ला सडकमा हुने उक्त महोत्सवमा नेपाली मौलिक, नेवारी, थारु, थकाली, चाइनिज, इन्डियन, इटालियन तथा बेकरीसहित ५० भन्दा बढी खाना कक्ष रहने जनाएको छ ।

ख्यातिप्राप्त कलाकारद्वारा सांस्कृतिक प्रस्तुतिसमेत हुने भएकाले करिब एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य लिएको अध्यक्ष शर्माले बताउनुभयो ।

दुई टायर गाडा चिरान काठ बरामद

दुईवटा टायर गाडामा लोडभएका करिब ९८ थान चिरान काठ प्रहरीले गएराती बाराको निगजढबाट बरामद गरिएको छ

वन जङ्गलबाट अवैध रुपमा रुख काटेर चिरान गरी दुईवटा टायर गाडामा राखेर लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढको प्रहरी गस्ती टोलीले टायर गाडासहित उक्त चिरान काठ बरामद गरेको हो ।

बरामद गरिएको काठ करिब ९८ थान ७६ दशमलव ५० क्युफिट रहेको र उक्त काठको बजार मूल्य रु दुई लाख २५ हजार रहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दीपककुमार रायले जनाएको छ । काठ तस्कर भने फरार रहेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्