Logo

दसैं अगाडि मेलम्ची खानेपानी आयोजनाको काम सक्न निर्देशन



काठमाडौं, २२ चैत। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य दशैं अघि नै सक्न सरकारलाई निर्देशन दिएको छ।

समितिको मंगलबार बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम दशैंअघि नै सक्न खानेपानी तथा सरसफाई मन्त्रालय र मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको हो ।

समितिले खानेपानी तथा सरसफाई मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि आयोजनाको कामको प्रगति विवरण प्रत्येक महिना समितिमा पेश गर्न सचेत गराएको छ। मेलम्ची खानेपानी आयोजनाको काम दशैं अघि नै सक्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए।

समितिले आयोजना निर्माणका लागि हालसम्म भएका वित्तीय व्यवस्थापनसम्बन्धि सम्पूर्ण वितरण एक हप्ता भित्र समितिमा पेश गर्न पनि मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको छ। समितिले मेलम्ची खानेपानीको पाइप विस्तारका क्रममा काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा आएको समस्या समाधान गर्न, वातावरणीय प्रदुषण न्यूनिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न पनि मेलम्ची खानेपानी आयोजनालाई निर्देशन दिएको छ।

समितिले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्ने तयारी पनि गरेको छ। आयोजनाबाट वित्तिय व्यवस्थापनसम्बन्धि विवरण समितिमा भित्र आउने वित्तिकै स्थलगत अवलोकन गर्ने निर्णय लिइएको समितिले जनाएको छ। बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको जानकारी दिए। उनले मेलम्ची खानेपानीको निर्माण कार्य दशंै भित्र सक्ने प्रतिवद्धता जनाए।

बैठकमा समितिका सदस्यहरुले आयोजना निर्माणको काममा ढिलाई गर्न नहुने बताएका थिए। उनीहरुले मेलम्ची खानेपानी आयोजनाको पाईपलाईन विस्तारको क्रममा उपत्यकामा प्रदुषणले सताउँदा समेत आयोजनाले त्यसको व्यवस्थापन गर्न नसकेको भन्दै आपत्ति जनाएका थिए । आयोजनाले जेठ भित्र पाईपलाइन विस्तारको काम सम्पन्न गर्ने गरी काम अघि बढाएको र सकेसम्म वातावरणीय प्रदुषण हुन नदिन सतर्कता अपनाइएको जिकीर गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस्