Logo

पशुपतिमा बाँदरआतंक रोक्न सर्वोच्चमा रिट



काठमाडौं २३ चैत । पशुपतिका बाँदरको आतंक रोक्न सर्वोच्च अदालतमा रिट परेको छ ।  ती दुवै धार्मिक क्षेत्रका बाँदरको आतंकबाट भक्तजन पीडित बनेको र विभिन्न रोग सर्ने जोखिम बढेको भन्दै मंगलबार अधिवक्ता मधुर पाठकले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

बाँदरआतंकले पशुपति मन्दिर परिसरमा पूजा गर्न आउने भक्तजनहरूमा असुरक्षा बढेको तथा सहज रूपमा पूजाआजा गर्न वञ्चित हुँदै आएको रिट निवेदनमा उल्लेख गरिएको छ ।

रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष र कोष सञ्चालक समितिलाई विपक्षी बनाइएको छ ।

पशुपतिमा पूजाआजा गर्न आउने भक्तजनलाई दिनहुँ बाँदरहरूले आक्रमण गर्ने, घाइते बनाउने एवं पूजा सामग्री लुट्ने, लत्ताकपडा च्यातिदिने तथा पूजाआजा गर्न बाधा व्यवधान उत्पन्न गर्ने गरेको भन्दै त्यस्ता क्रियाकलापलाई रोक्नुपर्ने रिटमा उल्लेख गरिएको छ ।

पशुपति क्षेत्रमा आउने आन्तरिक तथा विदेशी भक्तजन बाँदरको आतंकका कारण भयमुक्त वातावरणले घुम्न र दर्शन गर्ने वातावरण बिथोलिएकाले समाधानका लागि अदालतमा रिट दायर गरेको पाठकले बताए ।

केही समयअघि नयाँ पत्रिका दैनिकमा ‘पशुपति र स्वयम्भूका बाँदरमा क्यान्सर र एचआइभी संक्रमण’ भन्ने समाचार प्रकाशित भएपछि बाँदरबाट थप जोखिम सिर्जना भएको उनले रिटमा उल्लेख गरेका छन् । कुनै पनि नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा स्वतन्त्रपूर्वक घुम्न पाउने वातावरण बाँदरको आतंकले बिथोलिएको उनले बताए ।

बाँदरआतंक नरोके धार्मिक पर्यटनमा असर

अधिवक्ता मधुर पाठक पशुपति क्षेत्रका बाँदरको आतंक समाधानको उपाय नखोजे धार्मिक पर्यटनमा असर पुग्ने बताउँछन् । सरकारले पशुपति क्षेत्रमा स्वतन्त्र र निर्भीक रूपमा हिँड्ने वातावरण सिर्जना गरोस् भन्ने उद्देश्यले रिट दायर गरेको उनले बताए ।

पशुपति क्षेत्रको अध्ययन, अवलोकन, भ्रमण र दर्शन गर्न जाने स्वदेशी तथा विदेशी नागरिकमा भय र त्रासको वातावरण सिर्जना हुन गएको अवस्था छ । ‘यस्ता संवेदनशील विषयमा राज्यले समयमै उचित व्यवस्थापन र सम्बोधन नगरेमा त्यसले धार्मिक र सांस्कृतिक पर्र्यटन र विकासमा नराकात्मक प्रभाव पर्न जाने निश्चित छ,’ रिटमा उल्लेख छ ।

उनले रिटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको साख गिर्न सक्ने खतरा रहेको जिकिर गरेका छन् । -नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्