Logo

यस वर्ष भारतबाट १५ अर्बको बिजुली आयात



काठमाडौं २३ चैत । विद्युत प्राधिकरणले मुलुकमा लोडसेडिङमुक्त गर्न यस आर्थिक वर्षमा भारतबाट करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने जनाएको छ । प्राधिकरणले चालू वर्षको ९ महिनामा ९ अर्ब ६ करोड ८४ लाख रुपैयाँ बराबरको विद्युत् आयात गरिसकेको छ । बाँकी तीन महिनामा थप ६ अर्ब रुपैयाँ बराबरको विद्युत् आयात हुने प्रक्षेपण प्राधिकरणको छ ।

प्राधिकरणमा मंगलबार पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट चालू आवमा गत आवभन्दा एक अर्ब रुपैयाँ बढीको मात्र बिजुली आयात हुने जानकारी दिए । उनका अनुसार प्राधिकरणले गत वर्ष १३ अर्ब ९७ करोड २२ लाख रुपैयाँ मूल्यको बिजुली आयात गरेको थियो । यस वर्ष अघिल्लो वर्षभन्दा एक अर्ब बढीको मात्रै विद्युत आयात हुनेछ । प्राधिकरणले हाल भारतबाट ५ सय मेगावाटको हाराहारीमा बिजुली आयात गरिरहेको छ ।

यस वर्ष प्राधिकरणले १ अर्ब ९७ करोड २० लाख युनिट बिजुली भारतबाट आयात गर्नेछ । अघिल्लो वर्ष प्राधिकरणले १ अर्ब ७३ करोड ९ लाख युनिट बिजुली आयात गरेको थियो । प्राधिकरणका अनुसार यस वर्ष चैतमा समेत राम्रो वर्षा भइरहेकाले नदीको प्रवाहमा आधारित विद्युत आयोजनामा बिजुलीको उत्पादन बढेको छ भने यस वर्ष आधा दर्जन आयोजना सम्पन्न भई मुलुकको विद्युत प्रणालीमा १ सय ५ मेगावाट बिजुली थपिएको छ । भूकम्पबाट क्षतिग्रस्त भोटेकोसी आयोजनाको पुनर्निर्माण सकिन लागेको र त्यसबाट छिट्टै विद्युत प्रणालीमा ४५ मेगावाट बिजुली थप हुनेछ ।



प्रतिक्रिया दिनुहोस्