Logo

नेपाल र भारतबी प्रबुद्ध व्यक्ति समूह बैठक आज



काठमाडौं २३ चैत । नेपाल र भारतबीचका सन्धि–सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को तेस्रो बैठक आज राजधानीमा सुरु हुँदैछ । दुई दिन चल्ने बैठकमा मुख्य गरी सन् १९५० को सन्धि पुनरावलोकनको आवश्यकतामाथि छलफल गरिँदै छ ।  बैठकमा सहभागी हुन ईपीजीअन्तर्गत भारतीय पक्षका सदस्य नेपाल आइसकेका छन् । ईपीजीका भारतीय संयोजक तथा बीजेपी नेता भगतसिंह कोसियारी, बीसी उप्रेती, पूर्वराजदूत जयन्तप्रसाद दिल्लीबाट र महेन्द्र पी लामा सिलगुढीबाट काँकडभित्ता हुँदै काठमाडौं आएका छन् ।

बैठकमा १९५० को सन्धिका साथै नेपाल–भारत व्यापार सम्बन्ध र जलस्रोतको सहकार्य विषयमा दुवै पक्षले आ–आफ्ना कुरा राख्नेछन् । ईपीजीका नेपालतर्फका सदस्य सूर्यनाथ उपाध्यायले नेपाल–भारत जलस्रोत उपयोग र सहकार्य तथा सांसद राजन भट्टराईले नेपाल–भारत व्यापार सम्बन्धबारे बैठकमा प्रस्तुति राख्दै छन् । भारतीय पक्षले पनि यिनै विषयमा प्रस्तुति दिने र सहमतिको विन्दु खोजिने ईपीजी सदस्यले बताएका छन् । समितिमा नेपाल पक्षका संयोजक डा. भेषबहादुर थापा छन् । बैठक यसअघि दुईपटक सरिसकेको छ । पुसमा पर्यटकीय सहर पोखरामा गर्ने तय भएको बैठक भारतीय निर्वाचनलाई कारण देखाउँदै स्थगित गरिएको थियो । उक्त बैठक तीन साताअघि काठमाडौंमै गर्ने तयारी थियो । त्यति बेला पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तर प्रदेश भ्रमणका कारण सारिएको हो ।



प्रतिक्रिया दिनुहोस्