Logo

देशको पूर्वी क्षेत्र धार्मिक र पर्यटकीय भण्डार : राष्ट्रपति भण्डारी



इटहरी, २३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वी नेपाल धार्मिक तथा पर्यटकीय प्रचुर सम्भावना भएको र अन्न भण्डारको क्षेत्र भएकोले देशलाई समृद्ध बनाउन यहाँका सम्पदाको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनु भएको छ ।

आज सुनसरी जिल्लाको धार्मिक तीर्थस्थल कुम्भ नगरी चतरामा रहेको रामानन्दचार्य सेवापीठ परिसरमा आयोजना गरिएको बृहत्तर बराहक्षेत्र विकास गुरुयोजना तथा प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालयसम्बन्धी छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरामा जोड दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले विश्व रामसार सूचीमा संरक्षित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका दुर्लभ जङ्गली जीवजन्तु चराचुरुङ्गी तथा अन्य विभिन्न दुर्लभ बस्तुको भण्डारसँगै पूर्वी नेपालको कञ्चनजङ्गा जस्तो हिमशृङ्खला एवम् महत्वपूर्ण जडीबुटीको भण्डारसमेतले पूर्वी नेपाल प्राकृतिक सम्पदाले पनि ज्यादै स्रोत सम्पन्न भएकाले यसलाई सम्बन्धित सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्दछ भन्नुभयो ।

उहाँले बराहक्षेत्र पीण्डेश्वर विष्णुपादुका रामधुनीजस्ता अत्यन्तै पौराणिक र नेपालीको आस्थाको धार्मिक पावन क्षेत्रसमेत रहेकाले यसलाई हामी नेपालीले आफ्नो जीवन प्रणालीसँग जोडेर हेर्न सकियो भने हामीले अपार सफलता प्राप्त गर्न सकिन्छ भन्नुभयो ।

राष्ट्रपति भण्डारीले लाखौँ मानिसको पीडा बनेको कोसी नदी आसपासका पीडाबाट पिल्सिएकालाई मल्हमपट्टि लगाउनमात्र सकियो भने पनि न्याय मिल्नेमा आफू ज्यादै सम्वेदनशील रहेको बताउनुभयो ।

उहाँले मावन समानता र लैङ्गिक विभेदको अन्त्यका लागि सशक्त अभियानमा सक्रिय रहनुभएको आबाल ब्रह्मचारी षडानन्द अधिकारीकै प्रेरणाले महिलाको महत्वपूर्ण छवि बनाउनुहुने योगमायाको नामलाई अझ उचाइमा पु¥याउनका लागि अघि सारिएको योगमाया आयुर्वेद विश्वविद्यालयले मूर्तरुप पाउनेमा आफू आशावादी भएको पनि उल्लेख गर्नुभयो ।

सोही अवसरमा नेकपा (एमाले)का सचिव एवम पूर्व पर्यटन मन्त्री भीम आचार्यले राष्ट्रपति भण्डारीको सम्मानमा नागरिकका तर्फबाट तयार पारेको अभिनन्दनपत्र वाचन गर्नुहुँदै बृहत्तर बराहक्षेत्र विकास गुरुयोजनामा उल्लेख गरिएका महत्वपूर्ण कार्यले मूर्तरुप नपाएकोतर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराउनुहुँदै त्यो काम पूर्णरुपमा सफल गर्नेतिर राज्यको ध्यानाकर्षण गराउन आग्रह गर्नुभयो ।

सोही अवसरमा अर्का पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले बराहक्षेत्र विकासको बृहत्तर गुरुयोजनासम्बन्धी दस्तावेज पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभयो ।

गणेश सुब्बा विरहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामानन्दाचार्य सेवापीठका सञ्चालक सिद्धबाबा डा कृष्णदासजी महाराजले देशलाई समृद्ध बनाउनका लागि हरित क्रान्ति र आत्ममुखी भएर काम गर्न सबैलाई सद्विचार प्रदान गर्दै आएको बताउनुभयो ।

उहाँले यस चतराधाममा दोस्रोपटक भूसमाधीमा नौ दिन बिताउनुभएको थियो भने यसअघि पोखरामा पनि भूसमाधी पूरा गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्