Logo

ला लिगामा बार्सिलोना विजयी, रियल मड्रिडमाथि दबाब कायमै



काठमाडौं, २४ चैत । लियोनल मेस्सीको दुई गोलको मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडमाथिको दबाब कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ३–० ले हराएर रियल मड्रिडमाथिको दबाब कायम राखेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरे ।

बार्सिलोनाले तीनै गोल पहिलो हाफमा नै गरेको हो । स्वारेजले २५ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए । मेस्सीले २८ र ३३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । माचिन पेरेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इन्जुरी समयमा सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि शीर्ष स्थानको रियलको २९ खेलबाट ७१ तथा एक खेल बढी खेलको दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक भएको छ । चौथो स्थानको सेभिल्लाको ३० खेलबाट ५८ अंक छ । राति भएका अरु खेलमा ओसासुनाले एलाभोस तथा मालागाले स्पोर्टिङ गिजोनलाई समान १–० ले हरायो । डिप्रोटिभो डि लाकोरुना र ग्रनाडाले गोलरहित बराबरी खेले । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्