Logo

स्वास्थ्य बीमा गर्न आर्थिक सहयोग



रामपुर पाल्पा, २४ चैत । गरिब तथा विपन्न वर्गका परिवारका सदस्यको स्वास्थ्य बीमाका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाले साविकको वीरकोट गाउँ विकास समिति वडा नं ४ र ५ का गरिब तथा विपन्न परिवारका सदस्यलाई रु एक लाख २५ हजार रकम सहयोग गरेको छ ।

मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले वीरकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नुनबहादुर थापालाई सो रकम हस्तान्तरण गर्नुभयो ।

कार्यकारी अध्यक्ष थापाले रकम हस्तान्तरण गर्दै सप्ताह पूजा गरेर भगवानलाई पुज्नुभन्दा गरिब परिवारका सदस्यलाई स्वास्थ्य बीमा गराएर उपचारमा सहज होस् भन्ने उद्देश्यले रकम सहयोग गरेको बताउनुभयो ।

उहाँले प्रत्येक गरिब तथा विपन्न परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा आर्थिक रकम सहयोग गर्दै जाने बताउनुभयो ।

वीरकोट गाविस वडा नं ४ र ५ का लागि गरिब तथा विपन्न परिवारका ५० घरपरिवारका सदस्यलाई स्वास्थ्य बीमा गर्न ठूलो राहत मिलेको स्थानीवासी सीमा श्रेष्ठ बताउनुहुन्छ ।

दलकुमारी नेपाली खुशी हुँदै भन्नुहुन्छ, “सरकारले स्वास्थ्य बीमा गरेर उपचार निःशुल्क गर्छ भन्ने सुनेको थिएँ, रकम नहुँदा बीमा गर्न सकिएको थिएन” । अब निःशुल्क स्वास्थ्य बीमा हुने भएपछि उपचारका लागि परिवारमा समस्या नहुने भएको उहाँ बताउनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्