Logo

संस्कृत विद्यालयमा आकर्षण बढ्दै



इलाम, २४ चैत । परापूर्वकालदेखि चल्दै आएको धर्म, संस्कृति, मूल्य मान्यताहरूको आधारस्तम्भका रूपमा रहेको संस्कृत भाषाको अध्ययन अनुसन्धान गर्ने उद्देश्यले साविक बरबोटे–१ तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्रमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

यस गुरुकुलमा माध्यमिक तहमा एक सय २२ जना छात्रछात्रा अध्ययन गरिरहेका छन् । विद्यालयमै बसेर अध्ययन गर्ने छात्रछात्राले बिहान ५ बजेसम्ममा उठिसक्नुपर्ने र ६ बजेसम्म अनौपचारिक पठनपाठन, ध्यान तथा रुद्राभिषेक गर्छन् । स्थापनाकालदेखि हालसम्ममा नौजना दलित तथा जनजाति विद्यार्थीले अध्ययन गरेको यस केन्द्रबाट अघिल्ला वर्ष दुई एसएलसी र यसपटक एसइई दिइसकेका छन् ।

औपचारिकतर्फ नेपाली, अङ्ग्रेजी, संस्कृत, गणित, सामाजिक अध्ययन तथा सिर्जनात्मक कला, विज्ञान, स्वास्थ्य शारीरिक शिक्षा, संस्कृत रचना, संस्कृत व्याकरण, सदाचार शिक्षा (नित्यकर्म), कम्प्युटर, वेद, नीतिशास्त्र, कर्मकाण्ड फलित ज्योतिष आयुर्वेद, प्राकृतिक चिकित्सा योग शिक्षा तर्कसङ्ग्रह, न्यायलगायत विषय पढाइ हुने प्राचार्य भोगेन्द्र दाहालले बताउनुभयो ।

२०६५ सालमा सञ्चालनमा आएको यस केन्द्र इलाम माईस्थानबाट सुरु भई हाल तोरीबारीमा १८ रोपनी, छ आना दुई पैसा दुई दाम क्षेत्रफलमा अवस्थित छ ।

संस्थाले १५ रोपनी जग्गा खरिद गरेको छ । अध्ययन केन्द्रलाई अखण्डधुनी सञ्चालनका लागि रामप्रसाद तथा श्रीमती टीका अधिकारीबाट एक रोपनी जग्गा दान दिएका छन् । अहिले तीनवटा पक्की भवन रहेको यस केन्द्रमा शान्ति मन्त्रालयबाट एउटा र भारतीय राजदूतावासको सहयोगमा एउटा गरी दुईवटा भवन निर्माणाधीन अवस्थामा छन् ।

केन्द्रका लागि आवश्यक खर्च जुटाउन २० लाखको अक्षयकोष खडा गरिएको छ । जसको ब्याज दैनिक कार्यमा लगाइन्छ । त्यसबाहेक यजमान कोष, मुष्ठिदान, आजीवन सदस्यता पनि यसका अरू स्रोत हुन् । यजमान कोषमा ७०÷८० हाराहारी सदस्य रहेका छन् जसले कोषमा वार्षिक न्यूनतम रु पाँच हजार जम्मा गर्छन् भने स्वेच्छाले बढी पनि जम्मा गर्न सक्छन् ।

मुष्ठिदान गर्नेले वार्षिक रु ३६५ देखि रु ५०० सम्म जम्मा गर्नुपर्छ । स्थापना गर्दा आठजना विद्यार्थीबाट सुरु गरेको केन्द्रमा विद्यार्थी बढ्ने क्रम जारी रहँदा दैनिक खर्चसमेत बढिरहेको छ । जसलाई व्यवस्थापन गर्न दीर्घकालीन आर्थिक स्रोतको व्यवस्थापनका लागि प्रयासरत रहेको व्यवस्थापन समितिका अध्यक्ष रमेश भट्टराईले बताउनुभयो ।

नयाँ प्रविधि र बोर्डिङ स्कुलहरूको प्रतिस्पर्धा, आवश्यक शिक्षक उपलब्ध हुन नसक्नु, सरकारी अनुदानमात्र पर्यात नहुनुजस्ता चुनौती रहेका छन् । यी चुनौतीलाई सामना गर्दै विद्यार्थी आकर्षण गर्न केन्द्र लागिपरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्