Logo

मन्त्रीले ठेकेदारलाई भने,”काठमाडौँबासी प्रक्रिया होइन मेलम्चीको पानी चाहान्छन्”



काठमाडौँ , २४ चैत्र । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाही मेलम्ची खानेपानीको ठेकेदारलाई सुरुङ्ग निर्माणको काम समयमै सम्पन्न गर्न निर्देशन दिँदै काठमाडौँबासीले मेलम्चीको नतिजा खोजेको बताएका छन्‌ ।

मेलम्ची खानेपानीको स्थलगत निरीक्षणका लागि सिन्धुपाल्चोकको हेलम्बु पुगेका मन्त्री शाहीले ठेकेदारहरूलाई निर्धारित समय अक्टोबर भित्रै काम सम्पन्न गर्न निर्देशन दिने क्रममा उक्त कुरा बताएका हुन् ।

उनले नेपाली जनताले प्रोसेस भन्दा रिजल्ट खोज्ने भएकाले अगामी असोज भित्र काठमाडौँमा मेलम्चीको पानी खसेको रिजल्ट हेर्न चाहेको बताए ।

मन्त्री शाहीले ठेकेदारहरुलाई भने,” पास्ट , फ्यूचरको विषयमा म जान्न वर्तमानमा प्रभावकारी काम हुनुपर्‍यो । टाइम इज मनि, टाइम इज लाइफ । नो कम्प्रोमाइज । ”

उनले इटालियन ठेकेदारहरुलाई प्रभावकारी काम गर्न निर्देशन दिदै इटाली सरकारको प्रतिष्ठा पनि ठेकेदार कम्पनीसंग जोडिने बताए ।
मन्त्री शाहीले काठमाडौँबासीलाई दशैँको उपहार मेलम्चीको पानी दिने आफ्नो योजना रहेको भन्दै त्यसै अनुसारको काम गर्न सरोकारवालाहरूलाई निर्देशन दिए ।

उनले चौविसै घण्टा काम गर्न सक्ने व्यवस्था मिलाउन आग्रह गर्दै कामदारको सिफ्ट , जनशक्ति र उपकरण थपेर भएपनि कामको गति बढाउनु पर्नेमा जोड दिए । उनले भने ,” सरकारले मेलम्ची खानेपानी समयमै सम्पन्न गर्नका लागि आवश्यक उपकरण खरिद गर्न बजेट निकासा गरिसकेको छ । अब छिटै कामले गति लिन्छ । जनशक्तिको पनि उचित परिचालन र व्यवस्थापन हुनुपर्छ । यसले गर्दा मेलम्ची खानेपानी दशै अगावै सम्पन्न हुनेमा आशावादी छु । ” शाहीले काम पुरा भैसकेको ठाउँमा तत्काल फिनिसिङको काम पनि सुरु गर्न निर्देशन दिए ।

मन्त्री शाहीले मेलम्ची खानेपानी प्रभावित क्षेत्रका बासिन्दालाई भेटेर उनिहरुको मागको उचित सम्बोधन गर्न पहल गर्ने बताए । मेलम्ची आयोजना समयमै सम्पन्न गर्नका लागि सबैको सकारात्मक सहयोग चाहिएको भन्दै उनले आयोजनाका कुनै किसिमको अवरोध नगर्न समेत आग्रह गरे ।

मन्त्री शाहीले मेलम्ची खानेपानीको आफूले नियमित अनुगमन गरिरहने बताउदै दैनिक प्रगति विवरण आफू समक्ष पेश गर्न समेत निर्देशन दिए । काम कति भयो र भएन भने किन भएन समस्या सहित आफूलाई जानकारी गराए त्यो समस्याको तत्काल समाधान गर्न तयार रहेको बताए ।

साथै मन्त्री शाहीले मेलम्चीबासीले काठमाडौँबासी माथि देखाएर मानवताप्रति धन्यवाद समेत दिए ।

खानेपानी मन्त्रालयका सचिव भीम उपाध्यायले अहिलेकै गतिमा काम अघि बढे काठमाडौंबासीले मेलम्चीलाई दशैंसम्म कुर्नु नपर्ने बताए ।
मेलम्ची खानेपानीका कार्यकारी निर्देशक घनश्याम भट्टराईले आफूहरूले समयमै काम सम्पन्न गर्ने उदेश्यका साथ काम गरिरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्