Logo

अहिले संशोधन होईन, चुनावमा जानुपर्छ : नेता खनाल



काठमाडौं, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले संविधान संशोधन भन्दापनि चुनाव अनिवार्य रहेको बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले संविधान जारी भएपछि मुलुक आर्थिक क्रान्तिको बाटोमा अघि बढ्नुपर्ने बताउँदै यसको लागि सबै दल संविधान कार्यान्वयनमा जुट्नुपर्ने बताए ।

उनले स्थानीय तहको निर्वाचन नजिकिएको बताउँदै अब सबै दलहरु निर्वाचनको लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए । नेता खनालले क्लबलाई शुभकामना समेत दिए ।

त्यस्तै अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले चुनावमा जानुको विकल्प नभएको बताएका छन् ।

उनले भने चुनावमा गएर देशलाई निकास दिनुपर्नेमा जोड दिँदै भने,‘अहिलेको समस्याको निकास भनेको नै चुनाव हो ।’ उनले पनि क्लबलाई आगामी दिनको लागि सफलताको शुभकामना दिए।

त्यस्तै सोही कार्यक्रममा मधेशी मोर्चाका शीर्ष नेता अनिल झाले पनि आफूहरु चुनावको विरोधी नभएको जिकिर गरेका छन् । उनले प्रधानमन्त्री दाहालले आज घोषणा गरेझैं मोर्चाको माँग सम्बोधन गर्नेगरि नयाँ संशोधन प्रस्ताव ल्याए आफूहरुले स्वागत गर्ने समेत विश्वास दिलाए ।

कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले आधुनिक युगमा सञ्चारको ठूलो भूमिका रहेको बताउँदै रिपोर्टर्स क्लब नेपालले आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले क्लबका सभापति ऋषि धमलाले संस्थालाई गति दिनकोलागि आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अब आगामी दिनमा राजनीतिमा आउनको लागि शुभकामना दिए । उनले भने,‘भारतीय नेताहरुले पनि उहाँलाई संसद बनाउनको लागि यहाँ कुरा गर्नुभयो, अब उहाँले संस्थाको नेतृत्व अरु साथीहरुलाई सुम्पिएर राजनीतिमा आउनुपर्छ, मेरोपनि शुभकामना छ।’

त्यस्तै कार्यक्रममा वातावरण मन्त्री जयदेव जोशी, कानूनमन्त्री अजयशंकर नायक र नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजाललेपनि क्लबलाई शुभकामना दिए ।



प्रतिक्रिया दिनुहोस्