Logo

अब आयोग पर्खने अवस्था छैन : प्रमुख निर्वाचन आयुक्त



काठमाडौँ, २६ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारीका साथ आयोग अघि बढिसकेकाले अब पर्खने अवस्था नरहेको बताउनुभएको छ ।

निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सबै जिल्लाको मतपत्र, मतदाता नामावलीको छपाइ अघि बढिसकेको र यही चैत २८ देखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको तालिमसमेत सुरु हुन लागेकाले पर्खने अवस्था नरहेको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त डा यादवले भन्नुभयो – “अब हामी अगाडि बढिसक्यौँ, मतपत्र छपाइका लागि शनिबार ७५ वटै जिल्लाको पठाइसकेका छौँ । आयोगका आयुक्तहरु चैत २८ गतेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतको प्रशिक्षण लागि खटिनुभएको छ, दुई तीन दिनको समय सकिएको छ, सबै काम दु्रत गतिमा भइराखेकाले त्यो समय अब केही हुँदैन ।’’

मधेसका कतिपय जिल्लामा देखिएको समस्यालाई सम्बोधन गर्न सरकारलाई दिएको समयसीमा सकिएपछि आयोगले निर्वाचनको तयारीलाई तीव्र तुल्याएको हो ।

मधेसका समस्याका बारेमा ठोस निर्णयमा पुग्न समय दिँदै मधेसका जिल्लाको मतपत्र छपाइको कामलाई आयोगले केही दिन पर्खेको थियो ।

स्थानीय तहको निर्वाचनको सुरक्षाका सम्बन्धमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीसँग आज जानकारी लिएको जानकारी दिँदै प्रमुख आयुक्त डा यादवले गृह मन्त्रालयको सुरक्षा कार्ययोजनाबाट आयोग सन्तुष्ट रहेको बताउनुभयो ।

निर्वाचनका लागि सम्पूर्ण सुरक्षा दिन सरकार तयार रहेको र निर्वाचनको वातावरण पनि अनुकूल हँुदै गई मधेस केन्द्रित दल पनि निर्वाचनमा सहभागी हुने शुभसङ्केत देखिएको छ –उहाँले भन्नुभयो ।

बारा र पर्साको मतदान केन्द्रको सूची प्राप्त भइसकेको र बाँकी मधेसका छ जिल्लाको मतदान केन्द्र निर्धारण गरी यथाशीघ्र पठाउन निर्देशन भइसकेको उहाँले जानकारी दिनुभयो ।

आयोगअन्तर्गतको उच्चस्तरीय सुरक्षा समितिको संयोजक तथा आयुक्त सुधीरकुमार शाहले आयोगले सुरक्षाका विषयमा छलफल भएको र २ नं प्रदेशको सुरक्षा अवस्था सन्तोषजनक रहेको हुँदा मुलुकभर एकै चरणमा निर्वाचन हुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–‘‘सुरक्षा व्यवस्थाको बारेमा गृहमन्त्रालयका सचिवसँग घनिभूत छलफल भयो, शान्ति सुरक्षाको अवस्था नियन्त्रणभित्रै छ, एकै चरणमा निर्वाचन हुन्छ ।’’ रासस



प्रतिक्रिया दिनुहोस्