Logo

न्यायपालिकालाई कदर गर्नुपर्ने दायित्वप्रति संवेदनशील छु : महामन्त्री कोइराला



काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले न्यायपालिकाको गरिमामालाई कदर गर्नु पर्ने दायित्वप्रति संवेदनशील रहेको बताएका छन्।

न्यायपालिकालाई संसद मातहत ल्याउन पर्छ भनी कोइरालाले दिएको अभिव्यक्ति विरोध भएपछि अाइतबार विज्ञप्ति जारी गर्दै उनले स्थापनाकाल देखि नै नेपाली कांग्रेसले लोकतन्त्रको विश्वव्यापी मूल्य, मान्यताका प्रति विश्वास राख्दै आएको र संसदीय शासन प्रणाली, स्वतन्त्र न्यायालय, प्रेस स्वतन्त्रता र मानव अधिकार जस्ता मूल्यका प्रति बाल्यकालदेखि नै अभिप्रेरित र व्यक्तिगत रुपमा पनि अविचलित ढंगले प्रतिवद्ध रहेको बताएका छन्।

विज्ञप्तिमा कोइरालाले शक्ति पृथकिकरणको सिद्धान्तबमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति अाफू उत्तिकै सचेत उल्लेख गरेका छन्।

‘कार्यपालिकाको क्षेत्राधिकार बारे म जति सुस्पष्ट छु, उत्तिकै सम्मानीत न्यायालयको उच्चतम गरिमालाई कदर गर्नु पर्ने दायित्वका प्रति पनि संवेदनशील रहेको छ’ विज्ञप्तिमा कोइरालाले भनेका छन्, ‘म बाट व्यक्त भएको र आगामी दिनमा हुने यस सम्बन्धी कुनै पनि टिप्पणी सम्मानीत न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्य बमोजिम नै हुने सबैका लागि स्पष्ट गराउन चाहन्छु।’



प्रतिक्रिया दिनुहोस्