Logo

आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक अचानक स्थगित्



काठमाडौं, २७ चैत । आज बस्ने भनिएको मन्त्रिपरिषदको बैठक अचानक स्थगित् भएको छ । उपप्रधानमन्त्रीद्धय कमल थापा र विमलेन्द्र निधिबीचको बरियता विवाद मिलाउन नसकेपछि झण्डै एक महिनादेखि बस्न नसकेको मन्त्रिपरिषद बैठक आज बस्ने भनिएको थियो ।

तर बैठक बस्दै नबसी भोलि दिउँसो ३ बजेसम्मको लागि स्थगित् भएको एक मन्त्रीले जानकारी दिए । उपप्रधानमन्त्री दुबैले प्रधानमन्त्रीपछिको पहिलो बरियतामा आफै हुनुपर्ने दावी नछाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको बैठक नै राख्न सकेका छैनन् ।

तर अहिले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि उपप्रधानमन्त्री निधिले वरीयता विवादमा लचिलो हुने संकेत गरेकाले आज मनित्रपरिषद बैठक बस्ने भनिएको थियो । तर बैठक नबसिकन स्थगित् भएपछि फेरि भोलि पनि बैठक बस्ने हो कि हैन भन्नेबारे शंका पैदा भएको छ ।

निधि र थापाबीचको बरियता विवादले चैत ३ यता मन्त्रिपरिषद बैठक नै बस्न सकेको छैन । जसका कारण नेपाल प्रहरीका महानिरीक्षक नियुक्ति, स्थानीय निर्वाचनसँग जोडिएका कतिपय निर्णयहरु हुन सकेका छैनन् ।

निधि भारत भ्रमणमा रहेका बेला चैत ३ गते प्रधानमन्त्री दाहालले थापालाई मन्त्रिपरिषदको दोस्रो बरियतामा राखेपछि दुई उपप्रधानमन्त्रीबीच विवाद आएको थियो ।

निर्णय नसच्चाए राजीनामा दिने निधो गर्नुभएका निधिले प्रधानमन्त्री दाहाल र सभापति देउवासँगको भेटपछि भने विवाद सुल्झाउन तयार हुनुभएको दावी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्