Logo

नयाँ संशोधन विद्येयक ल्याउन प्रधानमन्त्री अन्तिम गृहकार्यमा, मोर्चासँग छलफल



काठमाडौं, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव ल्याउनुअघि मधेशी मोर्चासँग पूनः एकपटक छलफल गर्ने भएका छन् ।

सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिएर फेरि लैजान लागेको नयाँ प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सहमति जनाउने वा नजनाउनेबारे अझै टुँगो लागि नसकेकोले प्रधानमन्त्री दाहालले मोर्चाका शीर्ष नेताहरुसँग पूनः एकपटक परामर्श गर्ने जनाएका छन् ।

नयाँ विधेयक संसद्बाट अनुमोदन भए स्थानीय तहको चुनावमा भाग लिने मोर्चाका नेताहरूले बताउँदै आएका छन् । मोर्चाभित्र पनि अहिले संशोधन प्रस्तावबारे मत एकता देखिएको छैन् । त्यसैले दाहालले सबैको चित्त बुझाउनेगरि नयाँ प्रस्ताव ल्याउन लागेको र यसको लागि एक दिन समय लिने जमर्को गरेका छन् ।

हिजो शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नयाँ आउने संशोधन प्रस्ताव सबैको साझा हुने दाबी गरेका थिए । त्यतिमात्रै नभएर उनले आज उक्त प्रस्तावलाई मन्त्रिपरिषदबाट पारित गराउने उद्धघोष समेत गरेका थिए ।

उता नयाँ आउने विधेयकबारे आफूहरुलाई अहिलेसम्म कुनै अनौपचारिक जानकारी प्रधानमन्त्री दाहालले नगराएको मोर्चाका शीर्ष नेताहरु दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्