Logo

नयाँ प्रस्ताव पास भए, हामी निर्वाचनमा जान्छौं : महतो



संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले सरकारले ल्याउने नयाँ संविधान संशोधन प्रस्ताव पारित भए आफुहरु निर्वाचनमा जाने स्पष्ट पारेका छन् । नेता महतोसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

संविधान संशोधन प्रस्ताववारे सहमति भएको हो ?

अहिलेसम्म मधेशी मोर्चासँग कुनै सहमति भएको छैन । हामीसँग यसबारेमा केही छलफल तथा वार्ता भएको छैन् ।

तर प्रधानमन्त्री प्रचण्डले अब आउने संशोधन प्रस्तावमा मधेशी मोर्चा तयार भैसक्यो भन्नुभएको छ नि ?

उहाँलाई लागेको होला । त्यस्तो लागेको होला । तर उहाँले हामीसँग सल्लाह नगरीकन गर्नुभएको होला नि । उहाँलाई त हाम्रो सबै कुराहरु थाहा छ नि । हामीले चाहेका कुराहरु पनि थाहा छ नि । त्यसैले उहाँले त्यही अनुसार नै प्रस्ताव बनाउनुभएको होला तर हामीलाई यसबारेमा आधिकारिक रुपमा अहिलेसम्म केही भन्नुभएको छैन् ।

उसो भए सरकारले ल्याउने नयाँ संशोधन विद्येयकको पक्षमा तपाईहरु उभिनुहुने भयो, होईन त ?

अब त्यो त पहिले थाहा हुनुपर्यो नि । के दर्ता हुँदैछ ? भन्ने कुरा । यहाँ त के हुन्छ ? हुन्छ ? हामीसँग सहमति गरेर प्रस्ताव अघि बढाएको भए पो हामीलाई थाहा हून्छ ।

तर उहाँले त एमाले र मोर्चा दुवैसँग संशोधन प्रस्तावबारे सहमति भएको छ भनेर दाबी गर्नुभएको छ नि ?

त्यसरी सबैको सहमतिको आधारमा बनाएको छ भने त राम्रै हो नि । तर हामीसँग नयाँ प्रस्तावबारे अहिलेसम्म छलफल गरिएको छैन । हामीलाई केही जानकारी छैन् ।

तर मोर्चाका नेताहरु त बालुवाटार पुग्नुभएको थियो नि, सहमति त भयो होला नि ?

पहिले त मोर्चासँग बैठक नै भएको छैन् । यता मधेशी मोर्चाको पनि कुनै बैठक भएको छैन । मलाई थाहा छैन् । प्रधानमन्त्रीसँगपनि मोर्चाको कुनै छलफल भएको छैन् । अब व्यक्तिगत रुपमा कोसँग के सहमति भएको हो भन्ने कुरा मलाई थाहा छैन् ।

उसो भए अब मोर्चा निकासको लागि तयार छ ?

हामी त तयार छौं नि । हामीलाई निर्वाचनमा सँगै लिएर जाओस् भनिरहेका छौं । हामीले त आग्रह गर्दै आएको हो नि ।

मधेशी मोर्चालाई मान्य हुने प्रस्ताव आए के गर्नुहुन्छ ?

उनीहरुलेपनि अब सबैलाई चुनावमा समेट्नुपर्यो नि । एक्लै एक्लै चुनावमा जानु भएन नि । त्यसैले सम्पूर्ण देशलाई निर्वाचनमा लैजानुपर्छ । र, लोकतान्त्रिक मुल्य र मान्यता राख्ने सबै दललाई निर्वाचनमा लैजानुपर्छ । कसैलाई निषेध गर्नुहुँदैन् । अहिले मोर्चालाई निर्वाचनमा नलैजाने प्रयत्न भैरहेको छ । यो मुलुकको लागि घातक हो । तर प्रधानमन्त्रीले हामीलई समेत मान्य हुने प्रस्ताव तयार पार्नुभएको भनेर बाहिर कुरा आएको छ, तर के तयार पार्नुभयो भन्ने कुरा हामीलाई थाहा छैन् ।

उसो भए अहिलेसम्म अब आउने विद्येयकमा के के छ भनेर तपाईहरुलाई थाहा छैन ?

छैन । हामीलाई थाहा छैन् ।

तर नयाँ आउने विद्येयकमा के÷के छ भनेर खबरहरु त बाहिर आईसक्यो नि, यसमा तपाईहरुको कुनै विमति छैन ?

यही त हो, षडयन्त्र । अरु कुन कुन विषयमा प्रस्ताव ल्याइयो भन्ने कुरा थाहा भएको छैन् । प्रस्ताव राम्रो तयार गरेको छ भने हामीले स्वागत गर्ने हो नि । सरकारले ल्याएको प्रस्ताव चित्त बुझ्दो भयो भने हामी प्रस्ताव स्विकार गर्छौ, होईन भने के को सहयोग ?

तर सिमांकनबाहेकका अन्य विषयमा प्रमुख दलहरुवीच पनि सहमति भैसकेको कुरा बाहिर आएको छ नि ?

हुन त तीन प्रमुख दलले मिलेर संविधान त बनाएकै थिए नि । अहिले तीन वटै दल मिलेर निर्वाचनमा अघि बढ्न सक्छन् । हामीलाई पनि निर्वाचनमा सँगै लिएर जानुपर्छ । त्यही अनुसारको प्रस्ताव सरकारले ल्याउनुपर्छ । नयाँ विद्येयक राम्रो भयो भने त हामी स्वागत गर्छौ नि । विद्येयकलाई पारित गरेपछि त निर्वाचनमा जानको लागि बाटो खुलिहाल्छ नि ।

उसो भए नयाँ विद्येयक पारित भयो भने तपाईहरु निर्वाचनमा जानुहुन्छ ?

नयाँ विद्येयक हाम्रो अनुसार आयो भने हामी पारित गरेर निर्वाचनमा जान्छौं । हामीले खोजेकै हो नि । पटक पटक संघर्ष र आग्रह त्यसकैलागि गरेको हो नि । यो समस्या समाधान कहिले हुने हो ? अब बैशाख ३१ गते आउन धेरै समय छैन् ।

तर देशभरि नै अहिले निर्वाचनको माहोल छ नि ?

निर्वाचनको माहोल त बनिहाल्छ नि । निर्वाचन त सबैले चाहेकै छन् नि । तर जुन दिन मधेशी मोर्चाले परिस्थिति बनाउने खोजेको हो, हाम्रो आशा जुन दिन टुट्छ ।

उसो भए निर्वाचनमा मधेशी मोर्चा एक भएर जान्छ ?

विल्कुल हामी एक भएर निर्वाचनमा जाछौं । हाम्रो माँग पूरा भयो भने हामी एक ढिक्का भएर निर्वाचनमा जान्छौं ।

अनि मधेशी दलहरुवीचको एकता प्रक्रिया कहाँ पुग्यो ?

हामीले त्यसको लागि अहिले प्रयास गरिरहेका छौं । दलहरुवीच एकता हुनुपर्छ भनेर छलफल भएकै हो नि । सम्पूर्ण मधेशवादी दलहरुवीच एकता हुन्छ ।

          प्रस्तुति : ऋषि धमला 



प्रतिक्रिया दिनुहोस्